• ८ पुस २०८१, सोमबार

‘सरकारको बहुमत ऐक्यबद्धताको सन्देश’

blog

बर्दिबास समाचारदाता 

बर्दिबास, माघ २६ गते । उपप्रधानमन्त्री एवं भौतिक निर्माण तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठले असाधारण बहुमत प्राप्त गरेको वर्तमान सरकार राष्ट्रको मुख्य मुद्दामा सबै दलको सहमतिसहित ऐक्यबद्ध भएर अगाडि बढ्न चाहेको बताउनुभएको छ। 

प्रतिपक्षमा रहेका पार्टीले समेत सरकारलाई विश्वास र समर्थन दिनु ऐतिहासिक भएकाले आवश्यकता पर्दा सबै सहमति गरेर अघि बढ्ने सन्देशसमेत दिएको बताउनुभयो। 

“राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने कुरोमा, सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्ने मुद्दाहरूमा, सङ्क्रमणकालीन न्यायसँग सम्बद्ध शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सवालमा सबैको सहयोग र साथ हुनेछ भन्ने पनि सरकारलाई प्राप्त समर्थनले सन्देश दिएको छ,” श्रेष्ठले थप्नुभयो, “राष्ट्रिय हित र आवश्यकताका कामहरू पूरा गर्न नीतिगत प्रष्टतासहित सबै राजनीतिक दल र सामाजिक शक्तिसँग मिलेर अघि बढ्न हामी प्रतिबद्ध छौँ।” 

महोत्तरीको बर्दिबास–३, गौरीडाँडास्थित आधारशीला स्थापनाको २० वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो। उहाँले सुशासन कायम नभएसम्म समृद्धि र विकासको लक्ष्य पूरा नहुने अनुभव सुनाउनुभयो। आफू मन्त्री भएपछि मन्त्रालयका फाँटहरूमा ‘फाइल अड्कने’ परम्पराको अन्त्य गरेर सुशासनको सुरुवात गरेको जानकारी दिनुभयो। 

मुलुकको विकास र समृद्धिमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण भए पनि निजी स्वार्थका निम्ति राज्यलाई नोक्सानी पु-याउने काम भयो भने सरकार टुलुटुलु हेरेर बस्न नसक्ने उहाँको भनाइ थियो।