जुम्ला समाचारदाता
जुम्ला, पुस ७ गते । नेपाल एयरलाइन्सले कर्णालीमा उड्ने जहाजको तेल भर्ने प्राविधिक कर्मचारीको सुर्खेतमा दरबन्दी कायम नगर्दा जहाजमै घुमेर काम गर्न बाध्य छन् । काठमाडौँबाट दुई जना कर्मचारीमा एक इन्जिनियर र एक प्राविधिक सधैँ जहाजमा आउनेजाने गर्दा कार्यालय पनि जहाजै भएको छ ।
दुई जना कर्मचारी जहाजमै बस्नुपर्ने भएकाले सेवाग्राहीलाई सिट कम दिने गरिएको छ । सुर्खेत र नेपालगन्जमा दरबन्दी कायम नहुँदा ती कर्मचारी दिनभर जहाजमै घुमिरहनुपर्ने बाध्यता छ । जहाजबाटै सुर्खेत, नेपालगन्ज र अन्य जिल्लामा काम गरेर काठमाडौँ फर्किने गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रदीप अर्यालका अनुसार ती कर्मचारीको दरबन्दी नहुँदा जहाजबाटै काठमाडौँ फर्किने गरेका छन् । नेपाल एयरलाइन्स नेपालगन्ज प्रमुख यमराज सिंहका अनुसार सुर्खेतमा फ्युलिङ गर्ने क्रममा एक जना प्राविधिक कर्मचारी सुर्खेत हुनु पर्छ र अर्को इन्जिनियर कर्मचारी नेपालगन्जबाट जहाज उड्नुपूर्व परीक्षण गर्नका लागि आवश्यक छ । उहाँले यो दरबन्दी यतै कायम गर्न मागसमेत गरिएको बताउनुभयो ।
यता दरबन्दी कायम नगर्दा एकातिर अन्य नागरिकले चढ्ने सिट रिजर्भ हुँदा सिट घटेको छ भने अर्कातिर भाडामा ती कर्मचारीको अनावश्यक रकम खर्च भइरहेको छ । नेपाल एयरलाइन्स जुम्लाका प्रमुख उमाकान्त अधिकारीका अनुसार जुम्लाबाट सुर्खेत, नेपालगन्जका लागि १९ सिटमा अहिले १६/१७ सिट नागरिकले पाउने गरेका छन् ।
उहाँका अनुसार एक जना एयरलाइन्सकै कर्मचारी सुर्खेत तेलका लागि आउने गरेको र अन्य तेल बढी, कम के हुन्छ सोही अनुसार यात्रु राख्न गरिन्छ । जहाज काठमाडौँबाट रुकुम हुँदै नेपालगन्ज आएर अन्य जिल्लामा सेवा दिने गरेको छ । काठमाडौँबाट आउँदा एक इन्जिनियर र एक जना सुर्खेतमा फ्युलिङ भर्ने कर्मचारी आउने गरेका छन् । एक जना नेपालगन्ज बस्दछन् ।
अर्को प्राविधिक कर्मचारी जहाजमै नेपालगन्ज–जुम्ला हुँदै सुर्खेत तेल भरेर फेरि जुम्ला हुँदै नेपालगन्ज जहाजमा फर्किन्छन् । कर्णालीभरि यो प्रक्रिया निरन्तर चलिरहन्छ । यता नेपाल एयरलाइन्सका सहप्रवक्ता कल्पना काफ्लेले यो विषय विस्तृत बुझेर जानकारी दिने बताउनुभयो । यसै गरी कर्णाली क्षेत्रका जिल्लामा सञ्चालन हुने नेपाल एयरलाइन्सको ट्विनअटर जहाज काठमाडौँ बास बसेर आउँदा कर्णालीका यात्रुलाई समस्या भएको छ । कर्णाली र सुदूरपश्चिममा सञ्चालन हुने नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट समयमा नआउँदा उडान रद्द हुने समस्या बढ्दै गएको हो ।