राममणि दाहाल
मकवानपुर, पुस ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
उहाँले नेपाली नागरिकको आफ्नो आस्था र स्वतन्त्रता रहेको भन्दै लोकतन्त्रमा व्यक्ति र पार्टीको आस्था र विचारमाथि प्रहार स्वीकार्य नहुने बताउनुभएको हो । नेपाली कांग्रेस मकवानपुरको हेटौँडा उपमहानगरपालिका –२ स्थित पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको कांग्रेस मकवानपुरका संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बिपी स्मृति वाचनालयको सोमबार उद्घाटन गर्दै उहाँले अर्को व्यक्तिको स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले हरेक नागरिकलाई बोल्ने र लेख्ने स्वतन्त्रता लोकतन्त्रले दिएको छ, तर पछिल्लो स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएकाले फरक विचार लिने व्यक्ति र पार्टीको आस्थामाथि प्रहार गर्ने र व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोडलगायतका अराजकता मच्चाउने प्रवृत्ति बढेको भन्दै यसले लोकतन्त्रलाई संस्थागत र देशको समृद्धिका लागि सहयोग नपुग्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले सरकार कठोर हुनुपर्छ, व्यवस्था चलाउन तर सरकार निर्दयी हुन नहुने र सरकार निर्दयी भएर काम नचल्ने भन्दै अहिले भत्किएको हेटौँडाको समस्यालाई समाधान दिन आवश्यक भएको र यसमा प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरको सभापति बुद्ध लामाले कांग्रेस मकवानपुरमा संस्थापक सभापति सूर्यबहादुर डिम्डुङले दलहरु प्रतिबन्धित अवस्थामा पार्टी सङ्गठन निर्माणमा निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको भन्दै लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।