काठमाडौँ, पुस ६ गते । राष्ट्रिय किताबखानाले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने बताएको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलको नेतृत्वमा पुस ६ गते आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवाला निकायको समन्वयमा बसेको बैठकमा सम्पत्ति विवरण सम्बन्धित अन्तिम विवरणमाथि समीक्षा सम्पन्न भएको छ ।
४.४ प्रतिशतले बुझाएनन्
महानिर्देशक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका ७२ हजार २१४ मध्ये ६८ हजार ९८४ ले सम्पत्ति विवरण बु्झाएका छन् । ४.४ प्रतिशत अर्थात् तीन हजार २३० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
उहाँले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान र सतर्कता केन्द्रमा पठाइने बताउनुभयो ।
भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ५० (१) , अख्तियार दुरुपयोग अनुसंधान आयोग ऐन २०४८ को दफा ३१ (क )को उपदफा १ र निजामती सेवा नियमावली २०५० को नियम ११८ (१) बमोजिम सार्वजनिक पद धारण गरेको पदाधिकारीले पद धारण गरेको मितिले पहिलो पटक ६० दिनभित्र र त्यस पछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र तोकिएको निकायमा आफ्नो चल÷अचल सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
यसैगरी, मनासिव कारणबाहेक तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाउनेलाई दश हजार जरिवाना हुने व्यवस्था छ ।
उहाँका अनुसार प्रदेश निजामती सेवा र स्थानीय निजामति सेवाको कर्मचारी, न्यायाधीश, अध्ययन, अनुसन्धानमा रहेका तथा विदेशमा रहेका कर्मचारीले सो विवरण बुझाउनुपर्दैन ।
उहाँले सम्पत्ति विवरण नबुझाउने कर्मचारी उपर अख्तियारबाट जरिवानाको निर्णय भई कार्यान्वयन गर्न निर्देशन प्राप्त भएको अवस्थामा सबै मन्त्रालय, प्रदेश सरकार र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा आवश्यक कारवाही हने जानकारी दिनुभयो ।
हटाइयो दश वर्षदेखि निष्क्रिय कर्मचारी
पोखरेलले पछिल्लो समय विगत दश वर्षदेखि पीआईएस प्रणालीमा अद्यावधिक नभएको, सम्पत्ति विवरण बुझाएको नपाइएको र सम्पर्क स्थापित हुन नसकेका कुल एक हजार २६५ कर्मचारीको विवरण प्रणालीबाट हटाइएको छ । उहाँले आफ्नै नेतृत्वमा पहिलेदेखि कार्यरत नरहेका तर प्रणालीमा रहेका कर्मचारी कार्यदल बनाई छानबिन गरी हटाइएको बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय किताबखानाले प्रयोग गरिरहेको कर्मचारी सूचना प्रणालीमा वास्तवमा कार्यरत कर्मचारीको सङ्ख्या र विवरण देखिन्छ । अहिले कुल ८६ हजार ३१५ मध्ये एकैपटक घटेर ८५ हजार १९ मा पुगेको छ ।
उहाँले भन्नुभयो, “विगत दश वर्ष अथवा सोभन्दा धेरै वर्ष अगाडिदेखि काम नगरेका तर प्रणालीमा रहेका कर्मचारी हटाइएको छ । कसैको मृत्यु भयो, कोही सेवानिवृत्त हुनुभयो, कोहीले राजीनामा दिनुभयो । तर, प्रणालीमा यो विवरण अद्यावधिक, शुद्धीकरण भएन ।”
उहाँका अनुसार राष्ट्रिय किताबखानाको प्रणालीमा आबद्ध कर्मचारीको सङ्ख्या, कार्यालय, पद, सेवा, समूह, उप–समूह, वतन लगायतका विविध चार लाख आठ हजार बढी सूचना या त अपूर्ण या त अशुद्व छन् ।
उहाँले यो विषय कर्मचारी इन्फरमेसन बैङ्कका लागि गम्भीर चुनौतीको विषय रहेको बताउनुभएको छ ।
यही पुस महिनाभित्र पहिलो चरणको सुधार अन्तर्गत निवृत्त कर्मचारीको भौतिक उपस्थिति नचाहिने गरी ‘फेसलेस सर्भिस’ सुरु गरिने र आगामी तीन महिनाभित्र दोस्रो चरणको सुधार सुरु गर्ने गरी ‘ई–पेन्सन सेवा’ सुरु गर्ने गरी कार्यक्रम अघि बढेको उहाँको भनाइ छ ।