रामकृष्ण बोहरा
बागलुङ, असार १८ गते । गैरकानुनी रुपमा विदेश जाने, पर्यटक भिसामा गएर श्रम गर्न खोज्नेलगायत बिना कागजात विदेश पुग्ने युवाहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । कतिपयको दुर्घटनामा ज्यान पनि गएको छ । यसरी ज्यान जाँदा उनीहरुले क्षतिपुर्ति नपाएका घटना छन् । मृत्यु भएकाहरुको शव समेत ल्याउन कठिन पर्नेदेखि घाइते र अपाङ्गता भएमा उपचार खर्च समेत नपाउने खतरा बढेको हो ।
सुरक्षित आप्रवासन परियोजनाले त्यस्तो समस्या पर्नुअघि वैधानिक बाटो अवलम्बन गर्न युवालाई सुझाव दिएको छ । गैरकानुनी रुपमा विदेश गएमा आउने समस्याबारे युवामा परामर्श सेवा दिने गरेको तर कतिपयले जानेर पनि गैरकानुनी बाटो रोज्दा दुर्घटना पर्ने गरेको परियोजनाका संयोजक मीनप्रसाद उपाध्यायले बताउनुभयो ।
उपाध्यायका अनुसरा, चालु वर्ष पनि यस्ता डेढ दर्जन घटनामा नागरिकले मृत्युबरण गरेका छन् । त्यस बाहेक दर्जनौ घटनामा घाइते, अपाङ्ग हुने, बिरामी परेर काम गर्न नसक्ने अवस्था आएका छन् । त्यस्तो समस्यामा पर्नेलाई समयमा उद्धार गर्न पनि कठिन भएको उपाध्याय अनुभव सुनाउनुहुन्छ ।
ती मध्येकै गलकोटकी एक युवतीले गैरकानुनी रुपमा विदेशमा गएर जोखिम मोलेको आप्रवासी स्रोत केन्द्र बागलुङका परामर्शदाता गंगाकुमारी शर्माले बताउनुभयो । ‘‘ती महिला पर्यटक भिसामा ओमान जानुभएको थियो । गैरकानुनी रुपमा कामदार बस्दा हिंसामा परेर धेरै दुःख पाउनुभयो ।’’ शर्माले भन्नुभयो । केन्द्रले दूतावासमा सम्पर्क गरेपछि उद्धार गरेर नेपाल फर्काएको शर्माले जानकारी दिनुभयो । हिंसाका कारण ज्यानै जोखिममा पार्नुभएकी ती महिलालाई सकुशल नेपाल फर्काउन सकेपनि राहत, बिमा र अन्य सेवा भने नपाएको शर्माले बताउनुभयो ।
यस्तै, जोखिममा पर्नेमा तमानखोलाका एक युवा पनि हुनुहुन्छ । सन् २००७ मा बहराइन पुग्नुभएका ती युवा अहिले गम्भीर बिरामी भएर अस्पतालमा हुनुहुन्छ । गैरकानुनी भएकाले नेपाल ल्याउने खर्च पनि परिवारले व्यहोर्नुपर्ने भएपछि समस्या थपिएको छ । ती युवालाई नेपाल ल्याउन मात्र १४ लाख खर्च लाग्ने बताइएको छ ।
केन्द्रका अनुसार पछिल्लो समय श्रम इजाजत बिना विदेशमा जाने, गैरकानुनी रुपमा काम गर्नेहरु बढ्दै गएका छन् । उनीहरु अप्ठ्यारोमा पर्दा उद्धारमा कठिनाइ हुने गरेको छ । केन्द्रको तथ्याङ्क अनुसार, चालु वर्ष गैरकानुनी रुपमा विदेशमा गएका बागलुङका मात्रै सात जनाको मृत्यु भएको छ । १० जना श्रम स्विकृति भएकाहरुको ज्यान गएको छ । ती मध्ये एक जना महिला रहेको शर्माले जानकारी दिनुभयो ।
प्रक्रिया पुगेकाहरुको समयमा शव ल्याएर परिवारलाई राहत र क्षतिपुर्ति दिलाउन सकिए पनि प्रक्रिया नपुगेकालाई केही गर्न नसकेको शर्माले बताउनुहुन्छ । शर्माका अनुसार चालु वर्ष बागलुङका एक सय ३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको छ । ती मध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो ।