• ८ भदौ २०८२, आइतबार

वर्जित औषधी बिक्रीवितरण

बिरामीको स्वास्थ्यमाथि गम्भीर लापर्बाही

blog

काठमाडौँ, भदौ ८ गते । औषधी व्यवस्था विभागबाट प्रतिबन्धित औषधी बजारमा खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ । विभागले बजारमा अनुगमन गर्दा ठुलो परिणाममा त्यस्ता औषधी अस्पतालमा समेत भेटिएका छन् । गुणस्तरहीन पाइएपछि विभागले आयात अनुमतिपत्र रद्द गरेका त्यस्ता औषधी नाफा कमाउने उद्देश्यबाट नेपालमा ल्याउने गरिन्छ । पछिल्लो पटक विभागले कलङ्कीमा यस्तो औषधी फेला पारेको छ । उक्त प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवा प्रालिले ल्याएर बिक्रीवितरण गरेको पाइएको हो । गुणस्तरहीन औषधी आयात गर्दै आएको सो प्रालिले नक्कली आयात अनुमतिपत्र बनाएर जीवन रक्षक औषधी (एन्टिबायोटिक इन्जेक्सन) आयात गरी बिक्री गर्दै आएको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार सफल स्वास्थ्यले प्रज्ञापनपत्रमा दुई लाख ५० हजार भाइलको गुणस्तरहीन इन्जेक्सन काठमाडौँ ल्याएर बिक्रीवितरण गरिएको हो । उक्त औषधीको बजार मूल्य दुई करोड २५ लाखभन्दा बढी पर्छ । 

विभागले उक्त औषधी गुणस्तरहीन भएको भन्दै गत जेठ २० आयात अनुमतिपत्र खारेज गरेको थियो । आयातकर्ताले भने उक्त औषधीको आयात अनुमतिपत्र जेठ २१ का दिन विभागमा दाखिला गरेका थिए । विभागका अनुसार असार २७ मा सोही औषधी वीरगन्ज भन्सारबाट जाँच पास भएर नेपाल भित्रिएको छ । केही समयअघि पनि औषधी व्यवस्था विभागले नक्कली आयुर्वेदिक औषधी कम्पनीमा छापा मारेर नक्कली आयुर्वेदिक औषधी बरामद गरेको थियो । त्यो बेला उक्त कम्पनीका दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भ्यालेन्ट्रोन हेल्थ केयर इन्डियाले उत्पादन गरेको औषधी भ्लेक्जोन–१ ग्राम यसअघि नै गुणस्तरहीन भएको भन्दै आयात अनुमतिपत्र रद्द गरेको जानकारी दिनुभयो । उहाँले सफल स्वास्थ्यले उक्त कम्पनीको आयात अनुमतिपत्र रद्द गरे पनि नेपाल ल्याएको बताउनुभयो । “यसबारे विभागले अनुसन्धान गर्दै छ,” विभागका महानिर्देशक ढकालले भन्नुभयो, “यसबारे विस्तृत विवरण आउन बाँकी छ ।”

यसरी भित्रिने गुणस्तरहीन औषधीले नागरिकको स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै उहाँले प्रतिबन्धित औषधी अनुगमन तीव्र बनाएको जानकारी गराउनुभयो । विभागमा परेको उजुरीका आधारमा कलङ्कीस्थित गोदाममा आकस्मिक छापा मारिएको थियो । छापा मार्ने क्रममा औषधी आयात गरेको काजजात फेला परेको छ । “हामीले आयात अनुमतिपत्र रद्द गरेपछि ठुलो परिमाणमा औषधी भित्रिएको छ,” विभागका वरिष्ठ औषधी व्यवस्थापक किरण वज्राचार्यले भन्नुभयो, “भारतबाट आएको औषधी कहाँ, कति छ, त्यसको अनुसन्धान भइरहेको छ ।” उहाँले उक्त औषधी विभिन्न अस्पतालका फार्मेसीमा आपूर्ति गरिएको प्रमाण भेटेको जानकारी दिनुभयो । वज्राचार्यले अनुसार गुणस्तरहीन औषधी ल्याएको आयातकर्ताले पनि स्वीकार गरेको बताउनुभयो । 

विभागको टोलीसँग आयातकर्ता देवराज लामिछानेले भने विभागले छापा मारेको औषधीबारे सत्यता नभएको दाबी गर्नुभयो । लामिछानेले उक्त औषधीको माग पहिल्यै आएको बताउनुभयो । वज्राचार्यले आयात अनुमतिपत्र रद्द गरिसकेपछि कसरी एलसी खोलियो, कसरी भन्सारबाट भित्रियो ? यो विषयमा पनि विभागले अनुसन्धान अगाडि बढाउने बताउनुभयो ।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।