• २६ फागुन २०८२, मङ्गलबार

आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित

blog

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बनेका आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित हुनुभएको छ । पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापा; पूर्वउपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव; नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल; पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव हुनुहुन्छ । 

सर्लाही–४ बाट उम्मेदवार दिनुभएका पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचन आयोगका अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभयो । 

यसै गरी सप्तरी–३ बाट उम्मेदवारी दिनुभएका पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीसँग पराजित हुनुभएको छ । रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्नुभयो । यस्तै यादवले १५ हजार २३९ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले आठ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले छ हजार ७१५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेल काठमाडौँ–५ बाट पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले पराजित गर्नुभएको हो । रास्वपाबाट उम्मेदवार पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पौडेलले नौ हजार १५९ मत प्राप्त गर्नुभयो । २०७९ को निर्वाचनमा पौडेल विजयी हुनुभएको थियो । 

यस्तै पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल यस पटकको निर्वाचनमा पराजित हुनुभएको छ । नेकपा (एमाले) का तर्फबाट तेह्रथुम–१ मा उम्मेदवार बन्नुभएका ढकाललाई सोही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका सन्तोष सुब्बाले झिनो मतान्तरबाट पराजित गर्नुभएको हो । सुब्बा ११ हजार ५६१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धीका रूपमा ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो । 

यसअघि दुई पटक स्वास्थ्यमन्त्री बनिसकेका गिरिराजमणि पोखरेल पनि यस पटक पराजित हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट महोत्तरी–१ मा उम्मेदवार बनेका पोखरेललाई सोही क्षेत्रमा रास्वपाका तर्फबाट उम्मेदवार प्रमोदकुमार महतोले पराजित गर्नुभएको हो । महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो । 

यसै गरी पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पर्वत–१ बाट पराजित हुनुभएको छ । यसअघि २०७९ सालको निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो । नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका गिरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले पराजित गर्नुभएको हो । भुसालले २६ हजार ५६१ मत ल्याउँदा  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्नुभयो । गिरीले १५ हजार ७५ मत प्राप्त गर्नुभयो । 

यसै गरी पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पराजित हुनुभएको छ । पर्सा–१ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तसँग पराजित हुनुभएको हो । पन्तले २७ हजार २७४ मत प्राप्त गर्दा यादवले १३ हजार ३० मत प्राप्त गर्नुभएको छ । यसै गरी सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिनुभएका पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पराजित हुनुभयो । नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालले १९ हजार आठ सय मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वंशलाल तामाङले १७ हजार ६८ मत प्राप्त गर्नुभयो । शेरबहादुर तामाङले १४ हजार १२२ मत प्राप्त गर्नुभएको छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।