• ३ जेठ २०८३, आइतबार

उपेक्षामा मौरीपालन

किसान पलायन घट्दै मह उत्पादन

blog

मौरी स्याहार्दै सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका मौरीपालक हेमराज देवकोटा । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, जेठ ३ गते । चरिचरनको अभाव, वन विनाश र सरकारको उपेक्षाका कारण सर्लाहीमा मौरीपालक किसान बर्सेनि घट्दै गएका छन् । 

दुई दशक अघिसम्म तीन सयको हाराहारीमा मौरीपालक किसान रहेको सर्लाहीमा अहिले अधिकांश किसान यो पेसाबाट पलायन भइसकेको अवस्था छ । सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयाका कमल बडालले २०६० सालदेखि मौरीपालन गर्दै आउनुभएको छ । 

२२ वर्षअघि १० वटा घारबाट व्यावसायिक मौरीपालक बन्नुभएका बडालले बिचमा ६०/७० वटासम्म पु¥याएर अहिले फेरि ३० वटा घार मात्र राख्नुभएको छ । उहाँले भन्नुहुन्छ, “चराउने ठाउँको अभाव, बालीनालीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलिया हाबी हुँदा अब त मौरीपालन गर्न पनि जाँगर छैन ।”

सिसौ र रुदिलोको बिरुवा रहेको ठाउँमा जति मौरी चर्न पाउँछन्, त्यत्तिनै बढी मह उत्पादन हुने किसानको भनाइ छ तर हिजोआज वनमा यी दुवै बोटबिरुवा मासिएका छन् । 

स्थानीयस्तरमा चरिचरनको अभाव भएपछि किसानले बाहिरी जिल्लामा समेत मौरी चराउन पु¥याउँछन् । प्युठान, परासी, चितवन, बारालगायत अन्यत्र मौरी चराउन लैजाँदा स्थानीय तह, वन कार्यालय र वन समूहले अवरोध गर्दा मार परिरहेको लालबन्दी नगरपालिका–१, नवलपुरका मौरीपालक किसान रवी भण्डारीको गुनासो छ । 

२०५८ सालमा दुई गोला मौरीबाट मौरीपालन सुरु गर्नुभएका ईश्वरपुर नगरपालिका–४, सागरनाथका हेमराज देवकोटोसँग अहिले मौरीका चार सय गोला छन् । सागरनाथ वन विकास परियोजनाले सिसौको रुख कटान गरेपछि यहाँका मौरीपालक किसानको चरिचरन गराउने ठाउँ नै मासिएको उहाँ गुनासो गर्नुहुन्छ । 

पुराना र अनुभवी मौरीपालक देवकोटा सरकारले शुद्ध महलाई प्रवर्धन र नक्कली महलाई कडाइ गर्नुपर्ने बताउनुहुन्छ । देवकोटाले भन्नुभयो, “सरकारले यति ग¥यो भने मात्र अहिले मौरीपालन गरिहेका किसान यसै पेसामा टिकिरहन्छन् अन्यथा थप सङ्कट आउने अवस्था रहन्छ ।”

कुशवाहका अनुसार मौरीपालक किसानलाई अनुदान वितरणका लागि मधेश प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख बजेट विनियोजन भएको छ । गत वर्ष पनि यत्ति नै रकम बराबरको अनुदान आए पनि किसानबिच विवाद भएर वितरण गर्न नपाएको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहको दाबी छ । 

२०५० सालमा सरकारले सर्भेक्षण गर्दा सर्लाही र चितवन मौरीपालनका लागि अब्बल देखियो । त्यसपछि सरकारले विदेशबाट ६८ गोला मौरी ल्याएर सर्लाहीमा ३८, चितवनमा २४ र अन्य जिल्लामा छ वटा गोला राखेर अनुसन्धान पनि ग¥र्यो । त्यसयता नेपालमा मुख्य गरी मेलिफेरा र सेरेना जातको मौरी पालिन्छ । मौरीपालनका लागि सरकारले थोरै मात्रामा बर्सेनि अनुदानसमेत पठाउँछ तर त्यसबाट वास्तविक किसान छुटेको र बिचौलिया हाबी भएको गुनासो किसानको छ । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहले भने मौरीपालक किसानबिच अनुदान लिने विषयमा विवाद रहेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “अनुदान जसले पाए पनि मौरीपालन गर्ने किसानले नै पाउने हो तर उहाँहरू बिच पनि एकता छैन् ।”

सर्लाहीमा अहिले मौरीपालन मुख्य पेसा रहेका ६८ घरपरिवार छन् । मह बेचेरै उनीहरूको परिवार पालिएको छ भने वार्षिक यहाँ एक सय टन मह उत्पादन हुन्छ । तीन सयको हाराहारीमा किसान हुँदा सर्लाहीमा वार्षिक चार सय टनसम्म मह उत्पादन हुने गरेको थियो ।