• ३ जेठ २०८३, आइतबार

विदेशबाट सिकेको पाठ : लोभलाग्दो व्यावसायिक कृषि

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । गोरखाको पालुङटार नगरपालिका मिरकोट खड्कागाउँका किसान नन्दबहादुर खड्काले लोभलाग्दो व्यावसायिक कृषि यात्राको नयाँ अध्याय सुरु गर्नुभएको छ । धेरै वर्र्षको वैदेशिक रोजगारी छाडेर आफ्नो गाउँघरमा कृषि तथा पशुपन्छी फार्म दर्ता गरी पाँच वर्र्षदेखि कृषिलाई व्यावसायिक पेसाका रूपमा अँगाल्दै आउनुभएको छ । उहाँले ५० रोपनी जग्गामा कागती, १२ रोपनीमा काँक्रो र करेला खेती तथा आठ रोपनी जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गर्नुभएको छ । 

उहाँले वैदेशिक रोजगारीमा सिकेका सिपलाई सदुपयोग गर्दै आफ्नै बाँझो भएको जमिनलाई सदुपयोग गर्दै ७० रोपनी जग्गामा व्यावसायिक कृषि खेती गरेर गाउँमै सम्भावनाको नयाँ बाटो कोर्न थाल्नुभएको छ । १० लाख रुपियाँबाट लगानी सुरु गरी मेहनत र परिश्रमको निरन्तरताकै बलमा विगत तीन वर्र्षदेखि कागती खेतीबाट करिब सात लाख रुपियाँ बर्सैपिच्छे आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । त्यसै गरी काँक्रो खेतीबाट दुई लाख रुपियाँ आम्दानी गरेपछि कृषिप्रति झन् आत्मविश्वासी भएर लागेको उहाँको भनाइ छ । 

अघिल्ला वर्र्षमा परीक्षणका रूपमा सुरु गरिएको खेतीले राम्रो प्रतिफल दिएपछि उहाँ अहिले अकबरे खेतीतर्फ अझ व्यवस्थित रूपमा लाग्नुभएको छ । बजारमा अकबरे खुर्सानीको माग राम्रो रहेको र मूल्य पनि आकर्षक पाइने भएकाले यसबाट थप आम्दानी हुने अपेक्षा उहाँको छ । 

अकबरे खुर्सानीको बजार राम्रो भएकाले व्यावसायिक खेती सुरु गरिएको भन्दै किसान खड्काले अगाडि भन्नुभयो, “मौसमले साथ दिए उत्पादन राम्रो हुने र आगामी दिनमा अकबरे खुर्सानी थप विस्तार गर्दै बजार व्यवस्थापनमा पनि ध्यान दिने मैले योजना बनाएको छु ।”केही वर्षअघिसम्म झारपात उम्रिने बाँझो जमिनमा अहिले हरियालीले ढाकिएको छ ।