• ३ जेठ २०८३, आइतबार

मुगुका प्रहरीकाे रासन भत्ता नबढेको गुनासाे

blog

दुर्गमको हिमाली जिल्ला मुगुमा कार्यरत सुरक्षाकर्मी । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, जेठ ३ गते । नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता  नबढेको महशुस भएको पाइएको छ।

सुकाढिक प्रहरीचौकीमा कार्यरत एक कर्मचारीका अनुसार नजिकै ५ किलोमिटर दुरीको छिमेकी जिल्ला हुम्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी साथीहरूले रासन भत्ता बापत मासिक २३ हजार हुन्छ तर त्यही नजिकैका हामीले मासिक ९ हजार रुपियाँ रासन भत्ता पाएर चित्त बुझाउनु परेको छ। नेपाल सरकारले हामी दुर्गमको हिमाली जिल्लामा कार्यरत प्रहरीलाई  विभेद गरेको महसुस भएको उहाँले बताउनुभयो ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँ पालिका वडा-२ मुगुको तिब्बत सिमा नाका प्रहरी चौकीमा कार्यरत एक कर्मचारीका अनुसार अनुसार नेपाल सरकारले रासन भत्ता पढाएपनि यहाँको महँगीअनुसार रासन भत्ता समायोजन हुन नसकेको गुनासो उहाँले गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसन्धान अधिकृत नवीन शाहीका अनुसार सुगुमको कालिकोट जिल्लामा पाउने रासन भत्ता र यहाँ दुर्गमको हिमाली जिल्ला मुगुमा पाउने रासन रकम लगभग उस्तै रहेको छ। हाल पाइरहेको दैनिक रासन भत्ताले यहाँ छाक टार्न गाह्रो हुँदै आएको तल्लो दर्जाका प्रहरी कर्मचारीले गुनासो सुनाउदै आएका छन्।

यहाँका सुरक्षाकर्मीहरुको मनवल बढाउनका लगि सरकारले रासन समायोजनमा विशेष ध्यान दिनुपर्ने अनुसन्धान अधिकृत शाहीको सुझाव रहेको छ।

हिमाली जिल्ला मुगुमा नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता कम भएको हुनाले  भत्ता पुनरावलोकन सम्बन्धी सिफारिस छ महिना पहिलेनै सम्बन्धित निकायलाई सिफारिस गरि पठाएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडान्नद खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "हुम्ला र मुगुको तुलनामा गर्ने हो भने भौगलिक विकटता उस्ता उस्तै छ।" यहाँ कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई मनबल बढाउन  रासन भत्तामा समायोजन गर्न आवश्कता देखिएको उहाँले बताउनुभयो। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख राम प्रकाश शाहका अनुसार प्रहरीको हिमाली जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारीको मनाेबल बढाउनका लागि रासन भत्तामा सामायोजनका लागि प्रहरी केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको उहाँले बताउनुभयो ।