• ३ जेठ २०८३, आइतबार

रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गराएका छन् । मन्त्रालयका सूूचना अघिकारी गोकर्णप्रसाद उपाध्यायका अनुुसार सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत १४० जना स्वतः पदमुक्त भएका छन् । मन्त्रालयले रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढाएपछि शुक्रबार साँझसम्म छ सयभन्दा बढीले आवेदन दिएका हुन् ।

सूचना अधिकारी उपाध्यायले भन्नुभयो, “सरकारी योजना अनुसार नियुक्तिलाई खुला र पारदर्शी बनाउन मन्त्रालयले सुरुवात गरेको नयाँ अभ्यास अनुसार पदपूर्ति, नियुक्ति र मनोनयन हुन उत्साहजनक रूपमा आवेदन परेको छ । नाम सूचीकृत गर्न यही जेठ ६ सम्मका लागि समय तोकिएकोमा आगामी बुधबारसम्म थप आवेदन आउने अपेक्षा गरिएको छ ।” मन्त्रालयसम्बद्ध निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा नाम सूचीकृत गर्न मन्त्रालयले क्युआर कोडको व्यवस्था गरेको छ । उक्त व्यवस्थामार्फत योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचीकृत हुन सक्ने र सबै क्षेत्रका दरखास्तको आकार, योग्यता र अनुभवका आधार हेरी मनोनयन तथा नियुक्ति कसरी गर्ने भन्ने निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल होटेल, पर्यटन तथा पर्वतीय प्रतिष्ठानमा आवश्यक पदपूर्तिका लागि नाम दर्ता गराउन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।

यसै गरी सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक समिति, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन सङ्ग्रहालय विकास समिति र हनुमानढोका दरबार सङ्ग्रहालय, भाषा आयोगलगायतका प्रतिष्ठानका लागि पनि नाम दर्ताका लागि आह्वान गरिएको छ । 

निगममा पाँच जना छनोट

मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा पाँच जनाको नाम छनोट गरेको छ । निगमको सञ्चालक समितिमा खुला प्रतिस्पर्धाबाट छनोट भएका सञ्चालकमा डा. दीपकप्रसाद बाँस्तोला, प्रवीण भट्टराई, महेन्द्रभक्त श्रेष्ठ, रूप लामिछाने र लीलाराज ढकाल रहनुभएको छ ।

यसै गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक छनोटका लागि गरिएको खुला प्रतिस्पर्धामा २१ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण पूरा भएको छ । चारबर्से कार्यकालका लागि महानिर्देशक बन्न मन्त्रालयदेखि प्राधिकरणका कर्मचारीले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्तिका लागि र मनोनयनका लागि रोस्टर सूचीमा नाम सूचीकृत गर्न मन्त्रालयले क्युआर कोडको व्यवस्था गरेको छ ।