हेटौँडा समाचारदाता
हेटौँडा, जेठ ३ गते । दुग्ध उत्पादक किसानबाट सङ्कलित रकम पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे सात लाख रुपियाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो । अध्यक्ष कालाखेतीले विद्युत् अवरुद्ध हुँदा चिस्यान केन्द्र सञ्चालनमा समस्या हुने भएकाले जेनेरेटर उपलब्ध गराइएको बताउनुभयो । उहाँले किसानबाट दुग्ध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको स्पष्ट पार्नुभयो ।
यसअघि जिल्ला सहकारी सङ्घमार्फत दुग्ध कारोबार हुँदा प्रतिलिटर तीन रुपियाँसम्म कमिसन लाग्ने गरेकोमा हाल उक्त खर्च घटाएर ५० पैसामा सीमित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ‘कृषि उपज खाता’ सञ्चालन गरी दुग्ध बिक्रीका आधारमा रकम सङ्कलन गर्दै आएको छ । हालसम्म उक्त खातामा करिब २५ लाख रुपियाँ जम्मा भइसकेको छ । सङ्कलित रकम दुग्ध किसान तथा सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको छ । मनहरीमा सहकारीमार्फत दुग्ध सङ्कलन तथा नियमित भुक्तानी प्रणाली सुरु भएपछि किसान उत्साहित बनेका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरी प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि किसानको उत्साहित भएक छन । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत पशुपालनतर्फ आकर्षित हुन थालेपछि मनहरी क्षेत्रबाट दैनिक करिब १५ हजार लिटर दुध उत्पादन हुने गरेको छ ।