काठमाडौँ, फागुन २६ गते । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।
गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद
भण्डारीले भन्नुभयो, “पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मत
परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ र
सम्भवतः आजै सकिने छ । आयोगले आफ्नो तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र
राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा
जुटेको छ ।”
संवैधानिक प्रावधान र सरकार गठनको प्रक्रिया
नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम
परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान
गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार
गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।
संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय
दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट
बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने
प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको
नेता चयनका लागि राजनीतिक दलहरूलाई बाटो खुल्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल
गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । दुवैको
परिणाम सार्वजनिक हुँदा (रास्वपा) लाई झण्डै दुई तिहाइको बहुमत प्राप्त हुने
भएकाले एकल सरकार हुने निश्चित छ ।