• १ असार २०८२, आइतबार

अब एकीकृत र संयुक्त परीक्षा हुन्छ : वीरबहादुर राई

blog

काठमाडौं, असार १ गते । लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले कम खर्चमा कर्मचारी छनाेट प्रक्रिया अगाडि बढाउन अब एकीकृत र संयुक्त परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । 

वि.सं. २००८ साल असार १ गते स्थापना भएको लोकसेवा आयोग ७५ औं वर्ष प्रवेश गरेको अवसरमा गोरखापत्र अनलाइनसँगको भिडियो संवादमा उहाँले सो विचार व्यक्त गर्नुभएको हो । आयोगले यो वर्षभरि हीरक महोत्सव विविध रचनात्मक कार्यगरी मनाउने भएको जानकारी पनि उहाँले दिनुभयो । 


विस २००७ मा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ असार १ गते  लोकसेवा आयोगको स्थापना भएको हो । स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनाेट गर्ने कार्य गर्दै आएको छ । 

नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सङ्घीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने व्यवस्था छ। 

भर्ना प्रक्रियामा योग्यता, स्वच्छता र निष्पक्षतालाई प्राथमिकतामा राखिएको बताउँदै सदस्य राईले समान प्रकृतिका संस्थाको परीक्षा एकै पटक सञ्चालन गरिने बताउनुभयो । जस्तै, गोरखापत्र, रासस, रेडियो नेपाल र टेलिभिजन, प्रेस काउन्सिलजस्ता समान प्रकृतिका मिल्ने खालको पदमा एकै पटक परीक्षा सञ्चालन गर्ने आयोगको तयारी छ । 

युवाहरू विदेश पलायन हुने क्रम बढेकाले आयोगले विश्वविद्यालयको पाठ्यक्रमको पनि अध्ययन गर्ने भएको छ भने विद्यार्थीसँग पनि छलफल गर्ने योजना आयोगको बनाएको छ । कतिपय संस्थानले परीक्षा प्रणाली खर्चिलो भएका कारण परीक्षा नै सञ्चालन गर्न नसक्ने अवस्थामा छन् नि भन्ने प्रश्नमा उहाँले परीक्षाको खर्च र भर्ना प्रक्रियालाई अझै सरल, छिटो र मितव्ययी बनाउने आयोगको तयारी रहेको जानकारी पनि सदस्य राईले दिनुभयो । 

प्रस्तुत छ– लोकसेवा आयोग स्थापनाको ७५ वर्ष प्रवेशका अवसरमा आयोगका भावी कार्यदिशा, आधुनिक परीक्षा प्रणाली र युवा पुस्तालाई आकर्षण गर्ने के कस्तो तयारी छ भन्ने विषयमा आयोगका सदस्य वीरबहादुर राईसँग गोरखापत्र अनलाइनका लागि नारद गौतम, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो संवाद


Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।