• ९ माघ २०८२, शुक्रबार

गगनको उदय यात्रा : विद्यार्थी राजनीतिबाट सभापतिसम्म

blog

नेसभापति पदको पदभार ग्रहण गर्दै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा । तस्बिर : विकास द्वारे

ललितपुर, माघ ९ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित एक समारोहबीच उहाँले सभापतिको पदभार ग्रहण गर्नुभएको हो । उहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिबिच पार्टी कार्यालय पुग्नुभएको थियो । यसअघि उहाँ पार्टीको महामन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।


विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्म

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा उदाउनुभएका थापा नेपाली राजनीतिको प्रभावशाली युवा नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाउन सफल थापाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो ।

मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापाका छोरा गगनकुमार थापाको जन्म २०३३ सालमा काठमाडौंमा भएको हो । सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका थापाको प्रारम्भिक चाहना डाक्टर वा इन्जिनियर बन्ने थियो । तर कक्षा ९ मा अध्ययनरत रहँदा २०४६ सालको जनआन्दोलनले उहाँलाई राजनीतिप्रति आकर्षित गर्‍यो ।

त्रिचन्द्र क्याम्पसमा अध्ययन थालेसँगै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । नेविसङ्घको सदस्य बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि विद्यार्थी राजनीतिमा उहाँको सक्रियता अझै बढ्दै गयो ।

स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभएका थापा २०५५ सालमा स्ववियु सभापतिमा निर्वाचित भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभयो । नेविसङ्घको उपाध्यक्ष र महामन्त्री हुँदै उहाँले सङ्गठनभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यही कालखण्डमा विभिन्न आन्दोलनका क्रममा पटक–पटक हिरासतमा पर्नुभएका उहाँ राजनीतिक सङ्घर्षका अनुभवी पात्र बन्नुभयो ।


आन्दोलन, सङ्घर्ष र राष्ट्रिय राजनीतिमा उदय

वि.सं. २०५९ असोज १८ पछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारद्वारा थापासहित विद्यार्थी नेता गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलमाथि राजकाज मुद्दा लगाइएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ को कदमपछि पनि उहाँमाथि राजद्रोहसम्बन्धी मुद्दा लगाइयो ।

त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा प्रखर वक्ताका रूपमा उहाँको प्रभाव व्यापक रह्यो । आन्दोलनका क्रममा उहाँको भाषण शैली र स्पष्ट विचारले आम नागरिक र राजनीतिक वृत्तमा विशेष ध्यान खिच्यो ।

नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य बनेपछि उहाँ १३ औँ महाधिवेशनबाट महामन्त्री पदमा विजयी हुनुभयो । साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा काम गर्दै केन्द्रीय शासन प्रणालीको अनुभवसमेत उहाँले प्राप्त गर्नुभएको छ ।

संसदीय यात्रा र हालको जिम्मेवारी

२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभयो । थापाले २१ हजार ३०१ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नुभएको हो । यही क्षेत्रमा २०७४ सालको निर्वाचनमा पनि उहाँले भट्टराईलाई पराजित गर्नुभएको थियो । यो विजय उहाँको संसदीय यात्राको तेस्रो सफल यात्रा हो ।

विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्मको लामो सङ्घर्षपूर्ण यात्रापछि नेपाली कांग्रेसको सभापति बनेका गगनकुमार थापाबाट पार्टीभित्र सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक नेतृत्वमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ ।

उहाँले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभएको छ । 




यो पनि पढ्नुहोस
Author
नारद गौतम

लेखक गोरखापत्र अनलाइनका डिजिटल प्रमुख (निमित्त कार्यकारी सम्पादक) हुनुहुन्छ ।