गोरखापत्रले आफ्नो प्रकाशनको सवा सय वर्ष पूरा गर्ने क्रममा एक्काइसौँ शताब्दीको उन्नत प्रविधि कृत्रिम बौद्धिकता (एआई) को प्रयोगकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेको छ । सिसाका साना अक्षर हातैले टिपेर स्टिकमा मिलाउने, ग्यालीमा राखेर पृष्ठ तयार गर्ने र हाते मेसिनबाट छापेर पाठकसम्म पुर्याउने प्रारम्भिक अवस्थाबाट एआईको प्रयोगसम्म आइपुग्नु गोरखापत्रको दीर्घकालीन विकास यात्राको स्पष्ट प्रमाण हो । समयानुकूल सुधार र प्रविधिको निरन्तर आत्मसात् गर्ने क्षमताकै कारण गोरखापत्रले १२५ (शताब्दी रजत) वर्ष मनाउने सफलता हासिल गरेको हो ।
विसं १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र १२६ वर्षको यात्रा तय गर्दै विश्वव्यापी पहुँच बनाउन सफल भएको छ । नेपालको राणाकालीन कठोर राजनीतिक परिवेशमा जन्मिएको गोरखापत्र आज दोस्रो शताब्दीको निरन्तर गतिशील यात्रामा अघि बढिरहेको छ ।
सन् १९३० को दशकदेखि नै गणितज्ञ र इन्जिनियरले अङ्कको प्रयोगमार्फत तथ्याङ्क उत्पादन, प्रशोधन र प्रसारण गर्ने प्रविधिलाई ‘डिजिटल’ नाम दिएका थिए । डिजिटल विकासको इतिहासमा सन् १९८० को दशकलाई महत्वपूर्ण कालखण्ड मानिन्छ । यस समयमा व्यक्तिगत कम्प्युटरको विकास, डिजिटल सञ्चार प्रविधिको विस्तार र विभिन्न डिजिटल उपकरणको प्रयोगले विश्वव्यापी रूपमा डिजिटल क्रान्तिको आधार तयार ग¥यो । त्यसपछि सन् १९९० को दशकमा इन्टरनेट सर्वसाधारणका लागि उपलब्ध हुन थालेपछि सूचना आदानप्रदानको स्वरूप नै परिवर्तन भयो । वेब ब्राउजरको विकास, डिजिटल मल्टिमिडिया सामग्री (जस्तै : डिजिटल फोटो, भिडियो) तथा इमेल सेवाको विस्तारले इन्टरनेटको लोकप्रियता तीव्र रूपमा बढायो ।

सन् १९९२ मा जेपिइजी ढाँचाको विकास भयो, जसले तस्बिरको आकार घटाएर सानो स्थानमा धेरै तस्बिर भण्डारण गर्न सकिने बनायो । यसले डिजिटल मिडियाको विकासमा महत्वपूर्ण योगदान पुर्यायो । सन् २००० को दशकमा स्मार्टफोनको विकासले डिजिटल प्रविधिको प्रयोगलाई अझ व्यापक बनायो । मोबाइलमै इन्टरनेट, क्यामरा, भिडियो र अन्य सेवा उपलब्ध हुन थालेपछि डिजिटल सामग्री उत्पादन र उपभोग दुवैमा तीव्र वृद्धि भयो । सामाजिक सञ्जाल, डिजिटल विज्ञापन र विभिन्न अनलाइन सेवाको विकासले डिजिटल संसारलाई अझ गतिशील र प्रभावकारी बनायो । स्मार्टफोनको प्रयोगले डिजिटल यात्रालाई अझ सुलभ, व्यापक र प्रभावकारी बनायो । यी प्रविधिले सूचना सम्प्रेषणको तरिका मात्र परिवर्तन गरेका छैनन्, मानव जीवनशैलीमै गहिरो प्रभाव पा¥यो । यसरी हेर्दा गोरखापत्रको डिजिटल रूपान्तरण केवल संस्थागत परिवर्तन मात्र नभई विश्वव्यापी डिजिटल विकाससँगै अघि बढेको एक सशक्त उदाहरणका रूपमा लिन सकिन्छ ।
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विश्वभरका सञ्चार माध्यम परम्परागत स्वरूपबाट डिजिटल स्वरूपतर्फ रूपान्तरण भइरहेका छन् । यही प्रवाहमा नेपालको जेठो र ऐतिहासिक प्रकाशन संस्था गोरखापत्र पनि क्रमशः डिजिटल युग अनुसार रूपान्तरण हुँदै आएको छ । छापा माध्यमबाट सुरु भएको गोरखापत्र आज बहुआयामिक डिजिटल प्लेटफर्मका रूपमा विकसित भएको छ । यसको डिजिटल रूपान्तरण केवल प्रविधि अपनाउने प्रक्रिया मात्र नभई सामग्री उत्पादन, वितरण, व्यवस्थापन र पहुँच विस्तारको समग्र परिवर्तन हो ।
सुरुवाती चरणमा गोरखापत्रले सूचना प्रवाहलाई छिटो, विश्वसनीय र अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्ने उद्देश्यले टेलिप्रिन्टर प्रविधिको प्रयोग सुरु गर्यो । विसं २०३५ फागुन २७ गतेको निर्णय अनुसार टेलिप्रिन्टर खरिद गरी एपी, एएफपी, सिन्ह्वा जस्ता अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट समाचार प्राप्त गर्न थालियो । यो प्रविधि प्रारम्भमा एनालग भए पनि यसले डिजिटल प्रविधितर्फको बाटो खोलिदियो । टेलिप्रिन्टरले विद्युत् सङ्केतमार्फत समाचारलाई कागजमा स्वतः छाप्ने भएकाले समाचार सङ्कलन प्रक्रियामा ठुलो परिवर्तन ल्यायो । त्यसपछि भेरिटाइप प्रविधिको प्रयोगले फोटो कम्पोजिङ प्रक्रियालाई व्यवस्थित र छिटो बनायो । यसका लागि दक्ष जनशक्ति तयार गर्ने, तालिम दिने र पूर्वाधार निर्माण गर्ने निर्णयले संस्थानको प्रविधिप्रतिको प्रतिबद्धता झल्काउँछ ।
यसपछि गोरखापत्रले कम्प्युटर प्रविधितर्फ महत्वपूर्ण फड्को मार्यो । विसं २०३९ देखि फोटो टाइपसेटिङ मेसिनको प्रयोग सुरु भई पेज निर्माण प्रक्रिया थप व्यवस्थित बन्यो । भेरिटाइपर, लाइनोटाइप जस्ता प्रविधिको प्रयोगले हाते कम्पोजलाई विस्थापित गर्दै उत्पादन प्रक्रियालाई छरितो र गुणस्तरीय बनायो । कम्प्युटरमा टाइप गरिएको सामग्रीलाई बोर्डमाइटमा प्रिन्ट गरी पृष्ठ निर्माण गर्ने अभ्यासले डिजिटल प्रविधिको प्रारम्भिक रूप देखायो । पछि आइबिएम कम्प्युटरको प्रयोग र डेस्कटप पब्लिसिङ प्रविधिको प्रवेशले समाचार सामग्री उत्पादनमा आधुनिकता थप्यो । यद्यपि सुरुवाती चरणमा सबै पत्रकारले प्रविधि सहज रूपमा अपनाउन नसके पनि यसले भविष्यको डिजिटल रूपान्तरणका आधार तयार गरेको थियो ।
गोरखापत्रले शताब्दी पार गरेपछि डिजिटल तस्बिर र रङ्गीन मुद्रणमार्फत नयाँ मोड लियो । विसं २०५९ असार १० गतेदेखि रङ्गीन छपाइ सुरु हुनु गोरखापत्रका लागि ऐतिहासिक उपलब्धि बन्यो । डिजिटल क्यामराको प्रयोगले तस्बिर उत्पादन प्रक्रियालाई तीव्र, सहज र गुणस्तरीय बनायो । यसले परम्परागत फोटो धुलाउने प्रक्रियालाई विस्थापित गर्दै आधुनिक पत्रकारिताको अभ्यासलाई सुदृढ बनायो । त्यसपछि वेब अफसेट र सिटुपी (कम्प्युटर टु प्लेट) प्रविधिको प्रयोगले मुद्रण प्रक्रियालाई पूर्णतः डिजिटल दिशातर्फ उन्मुख गरायो ।
डिजिटल यात्राको अर्को महत्वपूर्ण चरण इन्टरनेट र अनलाइन पत्रकारितासँग जोडिन्छ । विसं २०५३ फागुन १२ गते ‘दी राइजिङ नेपाल’ का सामग्री इन्टरनेटमा प्रकाशन गरेर गोरखापत्र संस्थानले नेपालमा डिजिटल पत्रकारिताको प्रारम्भिक अभ्यास सुरु ग¥यो । पछि आफ्नै वेबसाइट गोरखापत्र अनलाइन डटकम र राइिजङ नेपाल डेली डटकममार्फत समाचार प्रकाशन सुरु भई अनलाइन पत्रकारिताको विस्तार भयो । विसं २०७६ मा अनलाइन विभाग गठन र अनलाइन संस्करणको औपचारिक दर्तासँगै गोरखापत्र अनलाइनले संस्थागत मान्यता प्राप्त ग¥यो । २०७९ वैशाख १ गतेबाट https://www.gorkhapatraonline.com फेरि परिष्कृत साजसज्जामा आयो । यसमा ‘गोरखापत्र’ दैनिक, ‘मधुपर्क, ‘युवामञ्च’ र ‘मुना’ का सामग्री र गोरखापत्र अनलाइनका उत्पादनका साथै छापा माध्यमका सामग्री, पिडिएफ पृष्ठ तथा ४९ भाषाका सामग्री पिडिएफ प्रकाशन हुँदै आएका छन् । यसले छापा माध्यमलाई डिजिटल प्लेटफर्मसँग जोड्दै विश्वव्यापी पाठकसम्म पहुँच विस्तार गराएको छ ।
इपेपर (पिडिएपफ) प्रकाशनको सुरुवातले गोरखापत्रको सामग्रीलाई भौगोलिक सीमाभन्दा बाहिर पुर्यायो । २०६६ सालदेखि छापा संस्करणलाई डिजिटल रूपमा उपलब्ध गराउन थालिएपछि विदेशमा रहेका पाठकले सजिलै पहुँच पाउन थाले । बहुभाषिक पत्रकारिताको अभ्यासलाई डिजिटल माध्यमसँग जोडेर विभिन्न मातृभाषामा प्रकाशित सामग्रीलाई समेत विश्वव्यापी बनाइयो । यसले भाषिक विविधता संरक्षण र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन सफलता प्राप्त भयो ।
सामाजिक सञ्जाल र नयाँ मिडियाको प्रयोगले गोरखापत्रलाई आधुनिक सञ्चार प्रवाहसँग जोड्यो । फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्ममार्फत समाचार, भिडियो र मल्टिमिडिया सामग्री प्रसारण गर्न थालियो । यद्यपि सुरक्षासम्बन्धी चुनौती पनि देखिए तर ती अनुभवले डिजिटल सुरक्षाको आवश्यकता र व्यवस्थापनलाई अझ बलियो बनायो । युट्युबमार्फत भिडियो सामग्री उत्पादन र प्रसारणले गोरखापत्रलाई मल्टिमिडिया प्लेटफर्मका रूपमा स्थापित ग¥यो ।
डिजिटल अभिलेखीकरण (आर्काइभिङ) गोरखापत्रको अर्को महत्वपूर्ण पहल हो । ऐतिहासिक सामग्रीलाई सुरक्षित राख्न र अनुसन्धानकर्तालाई सहज पहुँच दिन संस्थानले आफ्ना सम्पूर्ण प्रकाशनलाई डिजिटल स्वरूपमा रूपान्तरण गर्ने कार्य अघि बढायो । अभिलेखालयसँगको सहकार्य, संस्थानमै अत्याधुनिक स्टुडियो निर्माण र प्रविधिको प्रयोगले यस कार्यलाई गति दिएको छ । यसले गोरखापत्रलाई केवल समाचार माध्यम मात्र नभई ऐतिहासिक अभिलेखको महत्वपूर्ण स्रोतका रूपमा पनि स्थापित गरेको छ ।
मोबाइल एप्लिकेसन, क्युआर कोड र स्मार्ट गोरखापत्र अभियानले डिजिटल यात्रालाई अझ प्रयोगकर्तामैत्री बनाएको छ । मोबाइल एपमार्फत समाचार पढ्न सहज भएको छ । क्युआर कोड प्रयोगले छापा र डिजिटल सामग्रीबिच सेतु निर्माण गरेको छ । ‘स्मार्ट गोरखापत्र’ अभियानले अनलाइन, एप र सामाजिक सञ्जाललाई एकीकृत गर्दै बहुआयामिक डिजिटल प्लेटफर्मको विकास गरेको छ ।
प्रशासनिक तथा व्यवस्थापन पक्षमा डिजिटल रूपान्तरण गरिएको छ । ई. हाजिरी प्रणाली, डिजिटल लेखा प्रणाली, एकीकृत व्यवस्थापन प्रणाली (जिआइओएमएस) र डिजिटल हस्ताक्षरको प्रयोगले संस्थानलाई कागजरहित, पारदर्शी र प्रभावकारी प्रशासनतर्फ उन्मुख गराएको छ । सूचना प्रविधि विभागको स्थापना र साइबर सुरक्षा व्यवस्थापनले डिजिटल संरचनालाई मजबुत बनाएको छ ।
त्यसै गरी मल्टिमिडिया युनिट र स्टुडियो निर्माणले भिडियो पत्रकारितालाई संस्थागत स्वरूप दिएको छ । आफ्नै स्टुडियोबाट कार्यक्रम उत्पादन र प्रसारण गर्न थालिएपछि गोरखापत्रले श्रव्यदृश्य माध्यममा आफ्नो उपस्थिति सशक्त बनाएको छ । यसै क्रमलाई निरन्तरता दिँदै विसं २०८२ मङ्सिर १२ गते ‘गोरखापत्र एकेडेमी सञ्चालनसम्बन्धी कार्यविधि–२०८२’ पारित गरी कार्यान्वयनमा ल्याएको छ । यसले गोरखापत्रलाई केवल समाचार प्रकाशनमा सीमित नराखी ज्ञान, अनुसन्धान र बौद्धिक बहसको केन्द्रका रूपमा विस्तार गरेको छ । २०८२ पुस ३ गते आयोजित ‘गोरखापत्र डिस्कोर्स’ मार्फत नीतिगत बहसलाई संस्थागत रूपमा अघि बढाइएको छ, जसको मुख्य उद्देश्य मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्नु पनि हो ।
विसं २०८२ फागुन १४ गते एआई नीति पारित गरेर गोरखापत्रले डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याएको छ । यस नीतिले एआई प्रयोगलाई स्पष्ट, सुरक्षित र जिम्मेवार बनाउँदै पत्रकारितामा मानव सम्पादकीय नियन्त्रणलाई सुनिश्चित गरेको छ । सत्यता, निष्पक्षता, विश्वसनीयता र उत्तरदायित्व जस्ता पत्रकारिताका मूल्यमान्यतालाई कायम राख्दै प्रविधिको प्रयोग गर्ने दिशामा गोरखापत्र अघि बढिरहेको देखिन्छ । यसरी हेर्दा गोरखापत्रको डिजिटल यात्रा निरन्तर विकास, नवप्रवर्तन र समयानुकूल परिवर्तनको सशक्त उदाहरण हो, जसले परम्परागत पत्रकारिताबाट आधुनिक डिजिटल पत्रकारितासम्मको सफल रूपान्तरणलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्छ ।