अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २६ गते । स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित गंगालाल माविको खेलमैदानमा ‘मुनलाइट ग्रुप चापाकोट क्रिकेट लिग’ शनिबारदेखि सुरु हुँदैछ । चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो ।
आजको उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वारियरबिच दिउँसो १२ बजे प्रतिस्पर्धा हुने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।
ह्वाइट हर्ष टोलीमा राष्ट्रिय यू–१९ टोलीबाट खेलिसकेका अपराजित पौडेल सहभागी छन् भने साँखर वारियरमा राष्ट्रिय यू–१९ टोलीबाट अनुभव बटुलेका सुभाष भण्डारी रहेका छन् । भण्डारीले विराटनगर किङ्सबाट पनि खेलिसकेका छन् ।
टी–२० रोबिन सिस्टममा सञ्चालन हुने प्रतियोगिता जेठ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले सेमिफाइनल खेल्दै फाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वारियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपियाँ र उपविजेताले ६० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसका साथै विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
अध्यक्ष रेग्मीका अनुसार स्थानीयस्तरमा क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।