सवा एक शताब्दीको शिशिर वसन्त झेलेर इतिहास रचिसकेको राष्ट्रिय गौरव गोरखापत्रले अझ धेरै उकाली ओराली पार गर्दै आफ्नो अविराम यात्रालाई निरन्तरता दिइरहेको छ । यस परिप्रेक्ष्यमा गोरखापत्रले आफ्नो यात्रामा पछाडि छोडिएका पाइलाहरूलाई नबिर्सीकन सावधानीपूर्वक अघि पाइला चाल्नु पर्छ किनकि कुनै पनि यात्रा चुनौती र अवसररहित हुँदैनन् । गोरखापत्र एक समाचारपत्रिका मात्र हैन, सवा एक शताब्दीको नेपाली समाजको जिउँदो साक्षी पनि हो । त्यसैले यसका विगतका पृष्ठहरू पल्टाउँदा धेरै रोचक तथ्यहरू भेटिन्छन् । समयसँगसँगै गोरखापत्रले आफूलाई कसरी परिष्कृत गर्दै लगेको छ भन्ने पनि देखिन्छ ।
विगतका केही रोचक प्रसङ्ग
कुरा सुरु गरौँ, गोरखापत्रको शीर्षनाम (मास्टहेड) बाटै । आज हामी हरेक दिन यस दैनिक अखबारको मुखपृष्ठको शीर्षनाममा सबैभन्दा ठुलो अक्षरमा ‘गोरखापत्र’ भनेर जुन रूपमा छापिएको देख्छौँ; प्रारम्भमा त्यसको रूप अर्कै थियो । विसं १९५८ वैशाख २४ मा साप्ताहिक रूपमा प्रकाशित हुँदा यसको न्वारनको नाम ‘गोर्खापत्र’ भनेर छापिएको थियो । त्यसको २५ वर्षपछि १९८३ जेठ ४ गतेको अङ्कदेखि ‘गोरखापत्र’ भनेर छापिन थाल्यो । यसो गरिनुको मुख्य कारण नेपाली भाषाको प्रयोगमा आएको क्रमिक परिमार्जन नै थियो । किनकि त्यतिखेरका अन्य लिखतहरू हेर्दा पनि ‘र’ को काम उच्चारणका आधारमा रेफ र्( ) बाट लिने गरिएको देखिन्छ । छपाइमा ‘र’ को काम रेफबाट लिने प्रचलन हटाई सग्लो ‘र’ अक्षर नै प्रयोग गर्ने नयाँ शैलीको अगुवाइ त्यतिखेर गोरखापत्रबाटै भएको हुनु पर्छ । रोचक कुरो के छ भने गोरखापत्रको मास्टहेडको कथा यत्तिमै टुङ्गिँदैन । ‘गोरखापत्र’ भनेर छापिन थालेको ७९ वर्षपछि अर्थात् २०६२ वैशाख २४ गतेदेखि फेरि पहिलेकै रूपमा ‘गोर्खापत्र’ भनेर छापिन थाल्यो । त्यति मात्र हैन; त्यसमाथि गणेश भगवान्को चित्र र ‘राष्ट्र, राष्ट्रियता, राजमुकुट र प्रजातन्त्रप्रति प्रतिबद्ध’ भनेर वाचासमेत छापिन थाल्यो । यो क्रम भने धेरै लामो चलेन । एक वर्षपछि नै २०६३ वैशाख १८ गतेदेखि फेरि ‘गोरखापत्र’ नै छापिन थाल्यो, गणेशजीको चित्र र वाचा हटाइयो । साथै धेरै लामो समयदेखि विचार पृष्ठमा सम्पादकीयको ठिकमाथि छापिने गरेको राजमुकुटको चित्र र त्यसमुनि छापिने राजाको महावाणी पनि सोही साल जेठ ३ गतेको अङ्कदेखि हटाइयो । यी सबै समय समयमा देशको राजनीतिक परिवेशमा आएका परिवर्तनका प्रभाव थिए । मास्टहेडकै सन्दर्भमा २०१४ साल वैशाखमा गोरखापत्रको माथि शिरमा गरुडको चित्र र तल नेपालका प्रख्यात धार्मिक तथा सांस्कृतिक स्थलहरू, हिमाली शृङ्खला आदि झल्कने चित्रसमेत दिइएको पाइन्छ । यो क्रम भने लामो समय चलेन ।
संयोग जुरेपछि
गोरखापत्रको जन्म अत्यन्तै दुर्लभ ऐतिहासिक संयोगबाट भएको सबैलाई थाहै छ । जहानियाँ अनुदार निरङ्कुश राणा शासनकालमा पनि देवशमशेर जस्ता उदारवादी र देशका लागि केही राम्रो काम गरौँ भन्ने भावना र सकारात्मक सोच भएका व्यक्ति प्रधानमन्त्री भए । थोरै समयका लागि भए पनि देशको सर्वोच्च कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्री बनेका देवशमशेरकै सदिच्छा र सत्प्रयासबाट गोरखापत्रको जन्म भएको हो ।
देवशमशेर प्रधानमन्त्री नभएका भए गोरखापत्रको जन्म त्यतिखेर हुँदैनथ्यो । यहाँनिर संयोगको कुरा अर्को के पनि रहेको देखिन्छ भने प्रधानमन्त्री देवशमशेरले नरदेव पाण्डे जस्ता प्रतिभाशाली, अनुभवी एवं अदम्य क्रियाशील व्यक्तिको साथ पाए; जसबाट प्रधानमन्त्रीलाई मरुभूमिमा फूल फुलाउन अर्थात् बौद्धिक गतिविधि करिब शून्य रहेको अवस्थामा पनि समाचारपत्र प्रकाशित गर्न सफलता मिल्यो । उनले नरदेवको साथ नपाएका भए गोरखापत्रको जन्म सायद हुने थिएन । प्रधानमन्त्री देवशमशेरले गोरखापत्र प्रकाशित गर्नेबारेको लिखित सनद १९५८ वैशाख ११ गते उनै नरदेवलाई दिएका थिए । त्यसकै आधारमा उनले गोरखापत्र प्रकाशनको सम्पूर्ण अभिभारा वहन गरी काम गरेका थिए । लिखित सनद पाएको दुई हप्तामै अर्थात् वैशाख २४ गते साप्ताहिक गोरखापत्र प्रकाशित गर्न उनी सफल भएका थिए । प्रधानमन्त्री देवशमशेरले गोरखापत्र प्रकाशनको जिम्मा दिन नरदेवलाई नै किन छाने ? भन्ने प्रश्न पनि सान्दर्भिक हुन्छ । यसको मुख्य कारण नरदेवले विसं १९५५ साउनदेखि नै आफ्नै पाशुपत छापाखानाबाट नेपालको पहिलो पत्रिका ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित गर्न सफल भएका थिए । यही अनुभवका आधारमा देवशमशेरले उनलाई छानेका थिए ।
गुमनाम सम्पादक
आफ्नो श्रम, सिप र बौद्धिकता घोटेर गोरखापत्रलाई जन्माउने, हुर्काउने व्यक्तिहरूले राज्यबाट जीवन निर्वाहका लागि केही पारिश्रमिक त पाउने गरेका थिए तर उनीहरूले काम चाहिँ गुमनामकै अवस्थामा रहेर गर्नु पर्थ्याे । किनकि गोरखापत्रमा सम्पादक फलानो भनेर सम्पादकको नाम छाप्ने चलन सुरुदेखि धेरैपछिसम्म पनि थिएन । नरदेव, जयपृथ्वीबहादुर सिंह, चिरञ्जीवी शर्मा आदिले सम्पादककै जिम्मेवारी वहन गरी गोरखापत्रमा काम गरेका भए पनि सम्पादक भनेर उनीहरूका नाम छापिने गरेको पाइँदैन । जबकि त्यतिखेर भारतबाट प्रकाशित हुने विभिन्न समाचारपत्र र पत्रपत्रिकाहरूमा प्रधान सम्पादक वा सम्पादक साथै प्रकाशकको नाम छाप्ने गरिन्थ्यो । ती भारतीय पत्रपत्रिका काठमाडौँ भित्रिने गरेको भए पनि त्यसको सिको गरेर गोरखापत्रमा सम्पादकको नाम छाप्ने गरिएको पाइँदैन । सम्भवतः त्यतिखेर प्रजा वर्गका मानिसका नाम पत्रिकामा छापेर महत्व दिन तत्कालीन शासक वर्गलाई उचित लागेन होला । सम्पादकको काम गर्नेहरूले पनि आफ्नो नाम छाप्ने आँट नगर्नु राणाकालीन परिवेशमा स्वाभाविकै थियो । गोरखापत्रको प्रत्येक अङ्कमा ‘एडिटर्को राय’ (सम्पादकीय) भनेर समसामयिक विषयमा धारणा त छापिने गथ्र्यो तर राय दिने एडिटर को हो भन्ने पाठकले पत्तो पाउँदैन थिए । गोरखापत्र प्रकाशित हुन थालेको ३३ वर्षपछि मात्र १९९१ जेठ ५ गतेको अङ्कदेखि त्यो क्रम भङ्ग भएको पाइन्छ । त्यसै अङ्कदेखि गोरखापत्रको सम्पादकका रूपमा पहिलो पटक आफ्नो नाम छपाउने सौभाग्य प्रेमराज शर्माले प्राप्त गरे । यसमा पनि रोचक कुरा के देखिन्छ भने सुरुमा उनको पूरा नाम नछापी ‘सम्पादक प्रेम’ मात्र छापिएको पाइन्छ । अझ रमाइलो कुरो यो पनि भेटिन्छ कि सुरुमा पूरा नामसमेत छाप्ने आँट गर्न नसकेका सम्पादकको पहिचान केही समयपछि ‘म्यानेजर तथा सम्पादक डा. प्रेमराज शर्मा’ भनेर छापिन थालेको पाइन्छ । उनकै सम्पादनकालमा गोरखापत्र साप्ताहिकबाट साताको दुई पटक प्रकाशित हुन थालेको हो । उनी होमियोप्याथी चिकित्साका एक कुशल चिकित्सकसमेत भएकाले उनले आफ्नो नामको अगाडि डा. लेख्ने गरेका थिए । उनी गोरखापत्रमा संलग्न हुनुअगावै भारतबाट होमियोप्याथी चिकित्साको ज्ञान आर्जन गरी काठमाडौँमा बिरामीको उपचारमा सक्रिय रहने गरेको बुझिन्छ । यसबारे विस्तृत जानकारी भने उपलब्ध छैन ।

गोरखापत्र एक : रूप अनेक
गोरखापत्रको इतिहास अहिले १२५ वर्षको भए पनि गोरखापत्र दैनिकको इतिहास भने ६६ वर्षको छ । जन्मँदा सोमबारे साप्ताहिक अखबारका रूपमा जन्मिएको गोरखापत्र १९९१ वैशाख १५ गतेदेखि शुक्रबार प्रकाशित हुन थाल्यो । शनिबार निजामती, जङ्गी कर्मचारीका साथै शिक्षक तथा छात्रलाई फुर्सद हुने भएकाले उनीहरूले गोरखापत्र पढुन् भन्ने उद्देश्यले सोमबारको साटो शुक्रबार प्रकाशित गरिएको थियो । गोरखापत्र जन्मिएको करिब ४२ वर्ष छ महिनापछि विसं २००० असोज २९ गतेदेखि साताको दुई पटक सोमबार र शुक्रबार प्रकाशित हुन थाल्यो । त्यतिखेरको सन्दर्भमा यो निकै ठुलो फड्को थियो । त्यसको तीन वर्ष दुई महिनापछि नै विसं २००३ पुस ८ गतेदेखि साताको तीन पटक जोर बार अर्थात् सोमबार, बुधबार र शुक्रबार प्रकाशित हुन थाल्यो । यी सबै गोरखापत्रका राणाकालीन घटनाक्रम हुन् ।
गोरखापत्रले दैनिक अखबारको गरिमा देशमा धेरै राजनीतिक उथलपुथलपछि मात्र प्राप्त ग¥यो । साप्ताहिक प्रकाशनको छ दशकपछि, साताको तीन पटक छापिन थालेको १४ वर्षपछि तथा प्रजातन्त्र प्राप्तिको एक दशकपछि विसं २०१७ फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको शुभसाइतदेखि राष्ट्रिय दैनिक अखबारका रूपमा प्रकाशित भयो । गोपालप्रसाद भट्टराई दैनिक गोरखापत्रको पहिलो प्रधान सम्पादक हुन् । गोरखापत्र कुनै बेला बिहान र बेलुका गरी दिनको दुई पटक पनि प्रकाशित हुन्थ्यो भन्ने कुरा अहिले कतिपयलाई अनौठो वा अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो । २०१९ साल कात्तिक २ गतेदेखि २०२२ साल असोज १२ गतेसम्म गोरखापत्रको प्रभातकालीन र सन्ध्याकालीन संस्करण प्रकाशित हुने गरेको थियो । करिब तीन वर्ष यो क्रम चले पनि दिनमै दुई संस्करण निकाल्न प्रकाशन सामग्रीहरूको अभाव, विज्ञापनको अभाव, वितरणमा कठिनाइ साथै मुद्रण खर्च बढी भएकाले सन्ध्याकालीन संस्करण बन्द गरी प्रभातकालीन संस्करणलाई नै अझ सुदृढ बनाउने नीति अपनाइयो ।
गोरखापत्रका विशेषाङ्कको पनि आफ्नै इतिहास छ । पहिलो विशेषाङ्कका रूपमा विसं १९९८ असार १७ गते श्री ५ त्रिभुवनको ३५ औँ शुभजन्मोत्सवका उपलक्ष्यमा ‘उदयाङ्क’ नाम दिई प्रकाशित सामग्रीलाई नै गोरखापत्रको पहिलो विशेषाङ्क मान्न सकिन्छ । यद्यपि त्यसअघि १९८५ साउन महिनामा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको जन्मोत्सवका सन्दर्भमा उनका प्रशंसाका केही सामाग्री छापेको थियो तर त्यसलाई विशेषाङ्क भनेर उल्लेख गरिएको पाइँदैन । गोरखापत्रको लामो इतिहासमा विशेष अवसरहरूमा विशेषाङ्क प्रकाशित गर्ने परम्परा कायमै रहँदै आएको पाइन्छ । गोरखापत्र दैनिक भएको १७ महिनापछि २०१९ असारदेखि शनिवासरीय परिशिष्टाङ्क निरन्तर प्रकाशित हुन थाल्यो । नेपाली साहित्यको श्रीवृद्धिमा यस परिशिष्टाङ्कको अत्यन्तै महत्वपूर्ण योगदान रहिआएको छ । हरेक दिनको गोरखापत्र नपढे पनि शनिवासरीय नबिराई पढ्ने र सङ्कलनसमेत गर्ने पाठकहरू छन् ।
फोटो पत्रकारिताको बीजारोपण
गोरखापत्रको इतिहाससँगै जोडिएर आउने अर्को इतिहास छ– नेपाली फोटो पत्रकारिताको । आजको डिजिटल प्रविधिसँग तुलनै गर्न नसकिने अत्यन्तै न्यून प्रविधि भएको त्यस युगमा गोरखापत्रले फोटो छापेर फोटो पत्रकारिताको इतिहास सुरु गरेको थियो । आफ्नो प्रकाशन प्रारम्भ भएको २६ औँ वर्षमा विसं १९८४ वैशाख १३ गतेको अङ्कमा वीरगन्जकी १२ वर्षीय एक सर्वसाधारण बालिका सूर्यमती श्रेष्ठले चर्खामा धागो कातिरहेको तस्बिर गोरखापत्रले आफ्नो तेस्रो पृष्ठमा छापेर फोटो पत्रकारिताको श्रीगणेश गरेको थियो । त्यसैको आधारमा नेपालमा हरेक वैशाख १३ गते फोटो पत्रकारिता दिवस मनाउने गरिन्छ । त्यो फोटो खिच्ने को थिए भन्ने तथ्य अहिलेसम्म जानकारीमा आएको छैन, अथवा भनौँ त्यसबारे पर्याप्त अनुसन्धान गरिएको छैन ।
त्यतिखेर भारतमा महात्मा गान्धीको प्रभाव बढिरहेको थियो । गान्धीले चर्खा चलाएर धागो उत्पादन गर्ने अभियान नै चलाएका थिए । चर्खा उनको जीवनको एक अभिन्न दिनचर्या बनेको थियो । भारतको विहार चम्पारण क्षेत्रमा गान्धीको निकै राम्रो प्रभाव थियो । नेपालको वीरगन्ज र भारतको चम्पारण निकटवर्ती सीमा क्षेत्र भएकाले पारिको प्रभाव वारिको जनजीवनमा पर्नु स्वाभाविक थियो । साथै आधुनिक कपडा उद्योगहरूको विस्तार नभइसकेको त्यो युगमा आफ्नो परिवारलाई चाहिने कपडा आफैँ चर्खा चलाएर उत्पादन गर्ने कार्य नेपाली समाजका लागि पनि धेरै नौलो थिएन । यिनै पृष्ठभूमिका आधारमा त्यो फोटोले गोरखापत्रमा स्थान पाएको मान्न सकिन्छ । यहाँनिर रोचक कुरा के छ भने सरकारी व्यवस्थामा सञ्चालन भएको गोरखापत्रले सर्वमान्य राजा वा सर्वशक्तिमान राणा शासकको फोटो नछापी एक अत्यन्त साधारण बालिकाको फोटो छाप्नु आफैँमा अर्थपूर्ण छ । मुख्य कुरा राजा वा राणा प्रधानमन्त्रीको फोटो छाप्दा कस्तो छापिने हो भन्ने कुरामा त्यतिखेरका गोरखापत्रकर्मी विश्वस्त नभएका हुन सक्छन् । शासकवर्गको फोटो राम्ररी नछापिएर कालै छापियो भने जागिर मात्र हैन, जिउधन नै जोगाउन कठिन पर्न सक्ने भएकाले प्रयोगात्मक रूपमा एक सर्वसाधारणको फोटो छापिएको; जुन फोटो राम्रो नछापिए पनि कुनै सङ्कट नआउने देखेर त्यस्तो प्रयोग गरिएको हुन सक्छ भन्ने पुराना जानकारहरूको तर्क रहेको पाइन्छ । त्यो प्रयोग सफल भएपछि राजा त्रिभुवन र राणा शासकहरूका फोटो पनि गोरखापत्रले छाप्ने आँट गरेको देखिन्छ ।
साहसको कथा
गोरखापत्रसँग सम्बन्धित बिर्सन नहुने एउटा घटना यहाँ सम्झिनु सान्दर्भिक हुने छ । कुरा २०४७ को हो । देशमा निर्दलीय पञ्चायती व्यवस्था हटाई बहुदलीय व्यवस्था पुनस्र्थापन गरिएको थियो । त्यसलाई संवैधानिक स्वरूप दिन सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा संविधान आयोग गठन गरिएको थियो । त्यस आयोगले तयार गरेको नेपालको संविधान, २०४७ कात्तिक २३ गते राजा वीरेन्द्रद्वारा विधिवत् जारी भएको थियो तर त्यो संविधान जारी हुनुभन्दा केही महिनाअगावै गोरखापत्रको पहिलो पृष्ठमा एउटा सनसनीपूर्ण समाचार आयो । गोरखापत्रका पत्रकार रमेश शर्माको बाइलाइन रहेको त्यस समाचारले आफूलाई दरबारसँग निकट मान्ने केही शक्तिशाली व्यक्तिहरूले बेग्लै संविधानको मस्यौदा तयार गरिरहेका छन् भन्ने रहस्योद्घाटन गरेको थियो । यो समाचारले देशको राजनीतिक वृत्तमा निकै खैलाबैला मच्चायो । त्यो समाचार सत्य होइन भनेर कतैबाट आधिकारिक खण्डन वा प्रतिक्रिया आएन । समाचारलाई लिएर आधिकारिक संविधान आयोगले राजदरबार पुगी यसबारे कडा प्रतिवाद ग¥यो भन्ने चर्चा चल्यो । अन्ततः त्यही समाचारका कारण अनधिकृत रूपमा अर्को संविधान बनाउने चलखेल निष्क्रिय हुन गयो । त्यो समाचार छाप्ने बेलामा गोरखापत्रकर्मीका सामु जागिर जोगाउने कि देश जोगाउने ? भन्ने गम्भीर प्रश्न खडा थियो । यसमा उनीहरूले ठुलो साहसका साथ देश जोगाउने निर्णय लिएकाले त्यो समाचार छापिन सम्भव भएको थियो । परिवर्तित परिस्थितिले साथ दिएकाले यो समाचारका कारण गोरखापत्रका कसैले पनि जागिर गुमाउनु परेन । वास्तवमा यो प्रसङ्ग नेपाली पत्रकारिताको मात्र हैन, संवैधानिक इतिहासको पनि एक उल्लेखनीय घटना हो ।
गोरखापत्रको चर्चा गर्दा २०४९ साल फागुन ७ गतेदेखि प्रकाशन प्रारम्भ भएको निजी क्षेत्रको कान्तिपुर राष्ट्रिय दैनिकलाई पनि सम्झनुपर्ने हुन्छ । कान्तिपुरको पहिलो अङ्कको अन्तिम पृष्ठमा गोरखापत्रप्रति अनावश्यक रूपमा नमिठो व्यङ्ग्य प्रकाशित गरिएको थियो । प्रतिस्पर्धीसँग व्यावसायिक रूपमा प्रतिस्पर्धा गर्नु स्वाभाविकै हो तर जन्मेकै दिन प्रतिस्पर्धीलाई दुस्मनको व्यवहार गर्न उद्यत हुनुलाई के भन्ने ? कान्तिपुर बजारमा आउन थालेपछि नेपालका कतिपय स्वनामधन्य बुद्धिजीवीले समेत ‘अब गोरखापत्र बन्द गरे हुन्छ’ भन्ने धारणा राखेको पाइन्थ्यो । कतिपय ‘गोरखापत्र छिटै बन्द होस्’ भनेर भाकल गर्नेहरू पनि थिए । बाहिर ‘लोकतन्त्रमा सरकारले मिडिया चलाउनु हुँदैन’ भनेर कुर्लिने कतिपय महानुभाव नै नेताहरूका दौराको फेर समातेर राजनीतिक नियुक्ति लिई राज्यसञ्चालित मिडियामा हालीमुहाली गर्न तँछाडमछाड गर्नेहरूबाट गोरखापत्र मात्र अछुतो रहन सम्भव भएन ।
अबको बाटो
गोरखापत्रको गौरवपूर्ण इतिहास त छ तर इतिहासको मात्र बखान गरेर वर्तमान र भविष्य समृद्ध हुन सक्दैन । यस सन्दर्भमा नेपाली समाजमा प्रचलित ‘मेरा बाजेले घिउ खाएका थिए, मेरो हातमा बास्ना सुँघ’ भन्ने उखान मननीय हुन्छ । सर्वप्रथम गोरखापत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । यसलाई सरकारी पत्रिका ठान्नु गलत धारणा हो । प्रारम्भदेखि नै यो जनताले तिरेको करबाट सञ्चालन हुँदै आएको छ । यसको मुख्य स्रोत विज्ञापन र सहायक स्रोत पत्रिका बिक्री हो । त्यसैले यो सरकारमुखी मात्र नभई जनतामुखी हुनु जरुरी छ । देश र जनताका पीर, मर्का अनि विद्यमान विकृति, विसङ्गति र बेथितिका विरुद्ध निष्पक्ष र निडर भई उभिन सक्ने सम्पादकीय सामथ्र्य र स्वतन्त्रता भएमा मात्र गोरखापत्रको भविष्य सुरक्षित र समृद्ध हुने छ । सम्पादकीय स्वतन्त्रता र सम्पादकीय सामथ्र्य नभएको पत्रकारिता ढोडको लौरो जस्तो मात्र हुन्छ ।
व्यवस्थापकीय क्षमता बढाउनु गोरखापत्रको अर्को आवश्यकता हो । वितरण व्यवस्थाको हकमा अझै पनि गोरखापत्र निजी क्षेत्रका अरू दैनिकसँग प्रतिस्पर्धात्मक बन्न सकेको छैन । विज्ञापनको भुक्तानी लामो समयसम्म नउठ्ने पुरानो रोगबाट गोरखापत्र मुक्त हुन सकेको छैन ।
आजको डिजिटल प्रविधिले समाज र मानवीय स्वभावमा समेत अकल्पनीय परिवर्तन ल्याइदिएको छ । यसका सकारात्मक र नकारात्मक दुवै प्रभाव छन् । मुद्रण पत्रकारिता मात्र हैन, श्रव्य र श्रव्यदृश्य पत्रकारितामा समेत प्रत्येक जसो वयस्क व्यक्तिका हात हातमा भएका मोबाइल मिडियाले ठुलो चुनौती थपिदिएको छ । यो चुनौतीबाट गोरखापत्र मात्र मुक्त छैन । प्रविधिले जे जस्तो परिवर्तन ल्याए पनि सत्य, तथ्य र निष्पक्ष समाचार तथा विचारप्रतिको अनवरत उत्सुकता मानवीय गुण हो । यही मानवीय उत्सुकता परिपूर्ति गर्नमै गोरखापत्रलगायत मूलधारका सबै पत्रकारिता समर्पित हुन सके कुनै नयाँ प्रविधि चलनचल्तीमा आएकै कारणले मात्र वास्तविक पत्रकारिता ओझेलमा पर्नुपर्ने छैन ।
गोरखापत्रको आगामी बाटोको कुरा गर्दा सिङ्गै गोरखापत्र संस्थान र यसका सबै सहप्रकाशनकै समृद्धिका लागि सोच्नुपर्ने हुन्छ । यसमा संस्थानमा समयको माग अनुसारको कानुन, राजनीतिक हस्तक्षेपबाट मुक्ति, दीर्घकालीन वित्तीय योजना, चुस्त मानव संसाधन, उचित भौतिक एवं व्यावसायिक वातावरण आदि आधार सुनिश्चित हुनु जरुरी हुन्छ ।
अन्त्यमा, गोरखापत्र एउटा दैनिक पत्रिका मात्र हैन; अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालले गौरव गर्न सक्ने राष्ट्रिय पहिचान बोकेको सम्पदा हो । यसलाई जोगाएर अझ सुदृढ र समृद्ध बनाउनु सबै पक्षको जिम्मेवारी हो ।