• ३० वैशाख २०८३, बुधबार

बन्दीपुरमा ‘ग्लास स्काई वाक’ निर्माण सुरु

blog

‘ग्लास स्काई वाक’ को नमुना चित्र ।

अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते ।
नेपालको साहसिक पर्यटनलाई विश्वस्तरमा चिनाउने लक्ष्यका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा एक ‘मेगा प्रोजेक्ट’ को रूपमा सबैभन्दा लामो ‘क्यान्टिलिभर ग्लास स्काई वाक’ को निर्माण कार्य सुरु भएको छ ।

करिब एक अर्ब ४० करोड रुपियाँको लागतमा निर्माण हुन लागेको यो अत्याधुनिक संरचना आगामी दुई वर्षभित्र व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । परियोजनामा बैंक ऋण ४० करोड रुपियाँ रहने र बाँकी लगानी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट जुटाइएको कम्पनीले जनाएको छ ।

९७ मिटर लामो यस महत्वाकांक्षी परियोजनाको स्काईपिक एड्भेन्चर पार्क लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले हालै शिलान्यास गर्नुभयो । विश्वस्तरीय प्रविधिमा आधारित यस स्काई वाकमा एकैपटक प्रतिघण्टा एक हजार जनाले यात्रा गर्न सक्ने क्षमता रहनेछ । यहाँ हिँड्दा सिसा चर्किएको (क्र्याक भएको) कृत्रिम ध्वनिसहितको रोमाञ्चक र साहसिक अनुभव पर्यटकले प्राप्त गर्नेछन् ।

परियोजनाका प्रबन्ध सञ्चालक पोष्टबहादुर खड्काका अनुसार यस एकीकृत पर्यटन पूर्वाधारमा स्काई वाकका अतिरिक्त २०० मिटर गहिराइको बन्जी जम्प, दुई मिटर लामो सोप स्विङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्न सकिने ‘फ्लाई डाइनिङ’ र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गरिनेछ । यस्तै, एक अर्ब ७० करोडको अर्को एकीकृत योजना अन्तर्गत नेपालकै अग्लो ५५ मिटरको क्याप्सुल लिफ्ट, १४० फिट अग्लो आदियोगी शिवको मूर्तिसहितको ‘आदियोगी पार्क’ र रक क्लाइम्बिङ समेत निर्माण भइरहेका छन् ।

बन्दीपुर गाउँपालिकाका पूर्व अध्यक्ष पूर्णसिंह थापाले यो परियोजना नेपालको पर्यटन क्षेत्रको ‘सपनाको ताज’ बन्ने र यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय उद्यमी रेखा बानियाँले यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै होटल, यातायात र समग्र आर्थिक गतिविधिमा ठुलो सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

साहसिक, धार्मिक र आधुनिक मनोरञ्जनलाई एकीकृत गरिएको यो वृहत् परियोजना सम्पन्न भएपछि बन्दीपुर दक्षिण एसियाकै एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्काई वाक बाहेकका अधिकांश पूर्वाधारहरू आगामी दसैँभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको कम्पनीले जनाएको छ ।