• २७ फागुन २०८२, बुधबार

घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ हुने

blog

गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, फागुन २७ गते ।
गलकोट र ताराखोलाको सिमानामा पर्ने पर्यटकीय घुम्टे लेक ‘गुराँसको पहाड’ भनेर परिचित छ । वैज्ञानिक अध्ययन नभएपनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । सडक विस्तार तथा फँडानीले गुराँसे वन मासिँदै गएपछि यसको संरक्षणमा उत्सव हुँदै आएको छ ।

समुद्री सतहदेखि १० हजार ३९३ फिटको उचाईमा रहेको घुम्टे लेक प्राकृतिक, धार्मिक र जैविक विविधताले महत्त्वपूर्ण मानिन्छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटकीय चहलपहल पनि बाक्लिन थालेको छ । यहिँ पहाडको प्रचारप्रसार, पर्यटकीय विकास तथा प्रवर्धन गर्न १४ औं लालीगुराँस उत्सव हुने भएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज गलकोट एवम् १४ औं लालिगुराँस उत्सव तथा विश्व शान्ति यज्ञ समिति गलकोटको सह–आयोजनामा आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लालिगुराँस उत्सव तथा चौँथो विश्व शान्ति कार्यक्रम हुने भएको हो ।

कार्यक्रमअन्तर्गत चैत ३० गते एकादशीका दिन पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन किर्तन, सन्ध्या आरती, सूर्यास्त अवलोकन, वैशाख १ गते नित्य पूजा, सङ्क्रान्ति द्वोष पूजा, नवग्रह शान्ति पूजा, लक्ष्यवर्ती बत्ति प्रज्वलन र पौवा उद्घाटन गरिने घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताउनुभयो ।

पाँच पाण्डवहरु घुम्दै आउँदा ५ वर्षीय बालकले तपस्या गरेकाले सोही समयदेखि घुम्टेमा धार्मिक मेला लाग्ने गरेको र विभिन्न तपस्वीहरुले त्यहाँ तपस्या गरेको धार्मिक विश्वास रहेको गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।

पछिल्लो समय प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्था राख्ने पर्यटकको रोजाईमा घुम्टे लेक पर्न थालेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अनुसार, वर्षेनी हजारौँ पर्यटकले घुम्टे लेक चढ्ने गरेका छन् । घुम्टे चढ्न सहज पदमार्ग र पूर्वाधार बनेपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो । घुम्टेको धुरीमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई थप बढवा दिएको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य हो । घुम्टे लेक चुमेपछि गलकोट नगरपालिका वडा नं. ११ रिघाका सञ्जु श्रीसले सिद्ध र भैरवको दर्शनसँगै प्रकृतिमा रमाउँदा आनन्द महशुश भएको बताउनुभयो ।

केन्द्रले घुम्टे चढ्न रिचौर, टेउवा हुँदै जाने पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । पदमार्ग, मन्दिरको स्तरोन्नति लगायतका पूर्वाधारका काममा हालसम्म एक करोडभन्दा बढीको काम भएको केन्द्रले जनाएको छ । पर्यटन मन्त्रालय र स्थानीयको जनश्रमदानमा पदमार्गको काम भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घनाजङ्गल घुम्टेका सौन्दर्य हुन् । बसन्त ऋतुमा फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेको अध्यक्ष बस्नेतको भनाइ छ । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दहपानी, टोड्केपानी, पैराका सोतो शालीग्राम घुम्टेका पर्यटकीय आकर्षण हुन् ।

घुम्टे लेकमा डाँफे, मुनाल, काँडेभ्याकुर चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालु लगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचआंँले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर जडीबुटी पाइन्छन् । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगेपनि त्योभन्दा माथि तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ ।