गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । राष्ट्रिय किताबखाना (निजामती) ले सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । आइतबारदेखि नै सबै प्रदेशको मुख्यमन्त्री कार्यालयमा अस्थायी केन्द्र खडा गरी व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न अभियान सञ्चालन गरेको हो । किताबखानाका २१ जना कर्मचारीलाई सातै प्रदेशमा पिआइएस अद्यावधिक गर्ने कार्य सुरु गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, तालिम तथा अवकाशसम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन कर्मचारी व्यवस्थापन सूचना प्रणालीको ‘आर्किटेक्चर’ तयार गर्ने उल्लेख गरिएको छ ।
उक्त कार्यसूची कार्यान्वयन गर्न आवश्यक मुख्य आधारभूत तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने कार्यलाई किताबखानाले उच्च प्राथमिकतामा राखी विशेष अभियान सञ्चालन गरेको हो । किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले प्रत्येक कर्मचारीको अद्यावधिक विद्युतीय विवरण तयार गर्ने विशेष शिविरमार्फत अद्यावधिक नभएको आफ्नो विवरण अद्यावधिक गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो ।
सबै मन्त्रालय, विभाग तथा केन्द्रीय निकायलाई आफूमातहतको कर्मचारीको पिआइएस अद्यावधिक गर्न सक्ने सुविधाका लागि प्रणालीको पहुँच उपलब्ध गराएको छ । उक्त पहुँचको उपयोग गर्दै मन्त्रालयहरूले मातहतका कर्मचारीको पिआइएस आफैँ अद्यावधिक गर्न सक्ने छन् । यसका लागि किताबखानाले एउटा प्रदेशबाट पाँच जना गरी सात वटै प्रदेशका किताबखानामा कार्यरत ३५ जना कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिसकेको छ ।
कर्मचारी समायोजनका क्रममा सङ्घमा ४० हजार २१२, प्रदेशमा १३ हजार ९११ र स्थानीय तहमा ३१ हजार ७५३ जना कर्मचारी समायोजन भए पनि त्यसपछि भने कुन तहमा कति कर्मचारी छन् भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन ।