सर्लाही समाचारदाता
सर्लाही, माघ २५ गते । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका सर्लाहीको उत्तर–पश्चिम भेगका किसान यो वर्ष आलुले उचित मूल्य नपाउँदा मारमा परेका छन्।
प्रतिकेजी ४० देखि ४५ रुपियाँमा किनेर रोपेको आलु आफूले उत्पादन गरी बेच्ने बेला प्रतिकेजी ११ देखि १२ रुपियाँमा बिक्री गर्नुपर्दा किसान मारमा परेका हुन्। भारतबाट सस्तो मूल्यमा ठूलो परिमाणमा आलु भित्रिएपछि यहाँका किसानले उत्पादन गरेको आलुले मूल्य पाउन नसकेका हुन्।
अहिलेको मूल्यमा आलु बिक्री गर्दा लागत नउठ्ने बरहथवा नगरपालिका–२, हजरियाका किसान अर्जुन गिरीको गुनासो छ। गिरीले गुनासो गर्दै भन्नुभयो, “यो अवस्थामा किसान कसरी बाच्नु, भारतीय आलु खुलेयाम भित्रिँदा हामी अन्यायमा प-र्यौँ।”
डेढ बिघामा आलु लगाउनुभएका गिरीले १२ रुपियाँ प्रतिकेजी खेतबाटै आलु बेचिसक्नुभएको छ। डेढ बिघाको आलुबाट गत वर्ष तीन लाख छ हजार रुपियाँ लिएको भए पनि यो वर्ष एक लाख ८० हजार रुपियाँमै चित्त बुझाउनु परेको उहाँको भनाइ छ। एक कट्ठामा आलु फलाउन किसानको छदेखि आठ हजार रुपियाँसम्म खर्च भएको छ। “बीउ र मल किन्ने बेला अत्यन्त महँगो प-यो, त्यसअनुसार अहिले आलुको मूल्य नै पाइएन,” गिरीले भन्नुभयो।
आलु उत्पादनको पकेट क्षेत्र रहेको हजरियाकै अर्का किसान रामजी महतोले यो वर्ष प्रत्येक किसानलाई आलु खेतीबाट लागत उठाउन मुस्किल परेको बताउनुभयो। उहाँका अनुसार गत वर्ष किसानले आलु प्रतिकेजी २० रुपियाँसम्ममा बेचेका थिए।
आलु लगाउने समयमा कालोबजारियाबाट युरिया मल प्रतिबोरा एक हजार सात सयदेखि दुई हजार रुपियाँसम्म र डीएपी मल प्रतिबोरा तीन हजार पाँच सय रुपियाँसम्ममा किनेर हालेको किसानले बताएका छन्। “महँगीको बीउ र कालोबजारीको मल हालेर आलु फलायौँ तर अहिले बेच्ने बेलामा सस्तो भारतीय आलु भित्रिँदा हामीले मूल्य पाएनौँ।” महतोले भन्नुभयो। भण्डारण स्थलको अभावमा यहाँका किसानले आलु खन्नेबित्तिकै सस्तो मूल्यमा खेतबाटै व्यापारीलाई बुझाउने गरेका छन्। चार बिघामा आलु रोप्नुभएकी बरहथवा नगरपालिका–४ की किसान सिर्जना कार्कीले मूल्य नै नरहेकाले आलु नखनी राखेको बताउनुभयो।
बरहथवा नगरपालिका–२ का वडाध्यक्ष पुष्कर राउतले पछिल्लो समय उत्पादित आलुले उचित मूल्य नपाउने र बर्सेनि लागत बढ्दै जानाले आलु खेतीबाट किसान निराश हुन थालेको जानकारी दिनुभयो। उहाँले आलु खेती गर्ने किसानलाई अहिले ‘खाउँ भने दिनभरको शिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको बताउनुभयो।
कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार जिल्लाभर एक हजार ४०० हेक्टर जग्गामा आलु खेती हुने गरेको छ।