• १८ असार २०८२, बुधबार

अलैँचीमा हौसिए किसान

blog

माईजोगमाईको सिरिसेमा रोप्नका लागि तयार अलैँचीका बिरुवा । तस्बिर : कोकिला ढकाल

इलाम समाचारदाता

इलाम, असार १८ गते  । अहिले पहाडी जिल्लाका किसान अलैँचीका बिरुवा रोप्न व्यस्त छन् । यो सिजन अलैँची खेती गर्ने किसानका लागि मुख्य हो । जेठ र असार महिना अलैँचीको बिरुवा रोप्न उत्तम मानिन्छ । 

यस वर्ष अलैँचीको मूल्य राम्रो भएकाले पनि किसानले अलैँची खेतीलाई जोड दिन थालेका हुन् । “आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले राम्रो आम्दानी दिएको पाइयो,” इलामको सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किसान नरेन्द्र पौड्यालले भन्नुभयो, “त्यही भएर यस वर्ष खेतमा पनि अलैँची नै रोपियो ।” धान खाद्यान्नका लागि महत्वपूर्ण भए पनि अलैँची एक पटक लगाएपछि कम्तीमा आठ–१० वर्षसम्म हुने भएकाले धान खेतमा अलैँची लगाएको पौड्यालको भनाइ छ । 

यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म खरिद बिक्री भएकाले किसान अलैँची खेतीमा निकै हौसिएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालको बुझाइ छ । “आफ्नो खेतीयोग्य जमिन बाँझो राखेर युवा बिदेसिने चलन बढेको छ तर विदेशको कमाइभन्दा आफ्नै जग्गामा आम्दानीमूलक नगदे बाली लगाउने हो भने राम्रो आम्दानी हुन्छ भन्ने उदाहरण अलैँचीले देखाएको छ ।”

पौड्यालले भन्नुभयो, “प्रतिमन एक लाख १० हजार रुपियाँमा एउटा किसानले अलैँची बेच्नु चानचुने कुरा होइन ।” अलैँची उत्पादन हुने क्षेत्रका स्थानीय तहले पनि अलैँची खेतीमा युवालाई प्रेरित गर्न जरुरी छ । 

यता अलैँचीकै लागि काम गरिरहेको अलैँची विकास केन्द्रले यस वर्ष करिब एक लाख २५ हजार बिरुवा किसानलाई बिक्री गरेको छ । बिउबाट र टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका स्वस्थ्य बिरुवा किसानलाई उपलब्ध गराइएको केन्द्रका प्रमुख राजन परियारले बताउनुभयो । 

“माग चार लाख बिरुवाको थियो, यस वर्ष त्यति सङ्ख्यामा पु¥याउन सकिएन तर अर्को वर्ष चार लाख बिरुवा उत्पादन हुने गरेर हामीले विभिन्न जिल्लामा दोस्रो नर्सरी राखेका छौँ,” परियारले भन्नुभयो, “त्यो नर्सरी पनि बिजु बिरुवा र टिस्यु कल्चरबाटै उत्पादन हुने छ ।” केन्द्रले सङ्खुवासभा, भोजपुर, लमजुङ, गोरखा, इलामको फाकफोकथुम र ताप्लेजुङमा गरी कम्तीमा १७ वटा नर्सरी राखेको केन्द्र प्रमुख परियार बताउनुहुन्छ । 

“बाहिरका जिल्लाबाट माग धेरै आयो, इलामबाट बिरुवा ढुवानी गर्नुभन्दा सम्बन्धित जिल्लामै नर्सरी राखिएको हो,” उहाँले भन्नुभयो, “यस वर्ष खेती विस्तार पनि बढेको छ । यस वर्ष मूल्य राम्रो भएकाले किसान आकर्षित भएका छन् ।” राम साइ, गोल साइ, भार्लाङ, जिर्मलेलगायत जातका अलैँचीका बिरुवा लगाउने गरिएको छ ।

अलैँची खेती देशका ५४ जिल्ला १४ हजार ३८३.५ हेक्टर जमिनमा विस्तार भएको केन्द्रले जनाएको छ । चालु आव २०८१/८२ को हालसम्ममा सात अर्ब १९ करोड सात लाख ४२ हजार रुपियाँको अलैँची बिक्री भएको केन्द्र प्रमुख परियारले जानकारी दिनुभयो ।