बेलायत, असार १८ गते । बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागमा स्वास्थ्य सतर्कता अपनाइएको छ । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप–स्वास्थ्य सतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ ।
जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ ।
मौसम कार्यालयका अनुसार सोमबार र मङ्गलबारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ । केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।
यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुने छ । यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन ।
गत आइतबार दक्षिणपूर्वी इङ्गल्यान्डका केही भागमा ३१ डिग्री सेल्सियस पुगेको थियो । मौसम–स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महसुस हुने सम्भावना छ । यसैबिच युरोपभरि तीव्र तापक्रम रेकर्ड गरिएको छ । दक्षिणी स्पेनको एन्डालुसियामा शनिबार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आइतबार मध्य पोर्चुगलको मोरा सहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।
जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल