गोरखापत्र अनलाइन
काठमाडौं, असार १८ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले यो त्रुटि नभइ बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनुभयो । जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।
संलग्नहरुले कारबाही भोग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो त्रुटि हो कि बदमासी हो ? कि षड्यन्त्र हो । यो के हो ? सचिवज्यूसँग सोध्दा त्रुटि भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरु कतैबाट गाइडेड भएर पठाउनुभयो कि समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानबिन हुन जरुरी छ । यो छानबिन भएन भने गम्भीर समस्या ल्याउँछ ।’
अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् भनेर प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो । सांसदहरु भेडा बाख्राजस्ता रहेछन् भनेर टिप्पणी हुनेगरेको उहाँले दुःख व्यक्त गर्नुभयो । “हाम्रो बारेमा जनताले गर्ने टिप्पणी यही हो अहिले । हाम्रो विश्वसनीयतामा अत्यन्तै ठुलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ” सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनुभयो ।