• १९ असार २०८२, बिहिबार

धुर्कोट बालश्रम र सडक बालबालिकामुक्त पालिका घोषणा

blog

रमेश विश्वकर्मा 
गुल्मी, असार १९ गते ।
गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम तथा सडक बालबालिकामुक्त पालिका घोषणा गर्ने पहिलो बनेको छ । ‘समृद्ध धुर्कोट हाम्रो शान’ भन्ने नाराका साथ धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिका घोषणा गरिएको हो ।

धुर्कोट गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बालश्रममुक्त गाउँपालिका घोषणा गर्नुभयो । सभामा धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियान अपनाएर बालबालिकाको संस्थागत विकासमा कार्य गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

नेपालको संविधानको धारा ३९ मा उल्लेखित बालबालिकाको मौलिक हक, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का आधारमा पालिकाले आवश्यक सेवा प्रवाह तथा संस्थागत सूचकहरू पूरा गरेपछि घोषणा गरिएको हो । बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार पालिकाले बालश्रम तथा सडक बालबालिकामुक्त घोषणाका लागि अनुगमन, मूल्याङ्कन, वडागत निर्णयहरू लगायतका सबै प्रक्रिया पूरा गरेपछि घोषण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलले घोषणासँगै धुर्कोट गाउँपालिका बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकतामा राख्दै थप जिम्मेवार र उत्तरदायी हुने प्रतिबद्धता व्यक्त  गर्नुभयो । सो अवसरमा अध्यक्ष पोखरेलले सङ्घीय सरकारले सञ्चालन गरेका कतिपय आयोजना अलपत्र परे पनि पालिकाले सञ्चालन गरेका अधिकांश आयोजना सफल रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

सभामा विभिन्न सदस्यहरुले विकासका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए । सभा सदस्य चक्रबहादुर घर्तीले धुर्कोटलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्नेतर्फ पहल भइरहेको जानकारी गराउँदै मोटरबाटो विस्तारमा जोड दिनुभयो । सभा सदस्य माधव पोखरेलले सिमाघाटदेखि आउने मोटरबाटो सुस्त गतिमा भइरहेको गुनासो गर्दै कृषकहरू वन्यजन्तुको आक्रमणबाट आक्रान्त भएको बताउनुभयो ।

सभा सदस्य टोपलाल पराजुली र सीता सुनारले लक्षित वर्गको बजेट खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सभा सदस्य तारा खनालले वाँदरको विगविगीले समस्या निम्त्याएको बताउँदै नियन्त्रणका उपायमा ध्यान दिन आग्रह गर्नुभयो । सभा सदस्य कोष बहादुर थापाले धुर्कोटले अग्रणी स्थान बनाइरहेको उल्लेख गर्दै बेरुजु शून्यमा झार्न, मदिरा नियन्त्रण गर्न तथा कृषिमा बन्यजन्तु नियन्त्रण नीति आवश्यक भएको बताउनुभयो । 

मलको अभाव तथा जैविक मल प्रयोगमा जोड दिँदै कृषि शाखाको प्रभावकारितामाथि उहाँले प्रश्न उठाउनुभयो । सभा सदस्य प्रेम बहादुर मुखियाले लक्षित वर्गको बजेट टोलस्तरीय योजनामा नदेखिएको गुनासो गर्नुभयो । दलित बस्तीमा खानेपानीको अभाव रहेको र सडक जस्ता पूर्वाधार नपुगेको उल्लेख गर्नुभयो । सभा सदस्य विमला सुनार पाध्यवतीले सम्बन्धित वर्गसम्म बजेट नपुगेको धारणा राख्नुभयो ।

सभा सदस्य कृष्ण बहादुर नेपालीले आर्थिक तथा भौतिक क्षेत्रमा फड्को मारेको बताउँदै चेतना अभिवृद्धिसँगै पछाडि परेका वर्गलाई माथि उठाउने नीति आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष सीता गिरीले बजेटबारे महत्वपूर्ण विषय उठेको बताउँदै सीमित स्रोत साधनलाई अधिकतम उपयोग गरेर अगाडि बढिरहेको बताउनुभयो ।

अध्यक्ष पोखरेलले लक्षित वर्ग र कृषिमा बढी बजेट विनियोजन गरिएको जानकारी दिँदै वन्यजन्तु नियन्त्रणका लागि थप कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँसभा बैठकले  धुर्कोट गाउँपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, तथा वार्षिक बजेट तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।