विजयकुमार साह
ढल्केबर, असार १८ गते । धनुषाको सहिदनगर नगरपालिकाले तीन सय विपन्न परिवारका एक हजार पाँच सय जनाको स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाको चालू आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत यो स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नगर प्रमुख दिनेशप्रसाद यादवले पहिलोपटक नगरस्तरमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले विपन्न तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई लक्षित गर्दै स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक घरपरिवारको नाममा तीन हजार पाँच सय रुपियाँका दरले बिमा गरिएको छ । कुल तीन सय घरपरिवार लाभान्वित हुने गरी करिब १० लाख ५० हजार रुपियाँको लागतमा स्वास्थ्य बिमा गरिएको हो ।
नगर प्रमुख यादवले नगरपालिकाबाट पहिलोपटक सञ्चालित यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य जीवन नै समृद्ध नगरको आधार हो । हामी सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन प्रतिबद्ध छौं ।”
यस कार्यक्रमले नगरका निम्न आय भएका परिवारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । बिमासँगै बिमाको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गर्ने कार्य पनि अघि बढाइएको नगर प्रमुख यादवले बताउनुभयो ।