• ८ पुस २०८१, सोमबार

इँटा उद्योग चलाउन मुस्किल

blog

ललिता साह 

बोदेबरसाइन (सप्तरी), माघ २४ गते ।  सप्तरीका इँटा व्यवसायीले उचित मूल्य र बजार नपाउँदा मार परेको छ। बढ्दो बजार भाउले इँटाको उत्पादन लागत बढ्दै गएको छ भने इँटाको बिक्री भाउ यथावत् रहेकोले व्यवसायी केही वर्षदेखि घाटा बेहोर्दै आएका छन्। 

इँटा पकाउन प्रयोग हुने कोइला चार वर्षअगाडि प्रतिकिलो २४ रुपियाँमा पाइन्थ्यो। कोरोनापछि दोब्बर भएर ४४ रुपियाँ प्रतिकिलोमा किन्नुप-यो। अहिले कोइला प्रतिकिलो ४६/४८ रुपियाँको दरमा किन्नुपर्ने विष्णुपुर गाउँपालिका–१, बीडीआर इँटा भट्टाका सञ्चालक राजु साहले बताउनुभयो। 

उहाँले भन्नुभयो, “श्रमिक पनि महँगो भयो, पेट्रोलियम पदार्थ डिजेल महँगो भएकोले उत्पादन लागत पाँच गुणाले बढेको छ। यहाँको बजारलाई उत्पादन गरेको एक हिस्साले पुग्ने हुन्छ, थप उत्पादन बिक्रीका लागि फराकिलो बजार खोज्दा सस्तो दरमा इँटा बेच्नुपर्ने हुन्छ।” 

गत वर्ष एक करोडभन्दा बढी सङ्ख्यामा इँटा उत्पादन गर्दा चार करोडभन्दा बढी रकम लागत लागेको थियो। इँटाको भाउ बढेन भने यो वर्ष पनि व्यवसाय घाटामै रहने चिन्ता थपिएको उद्योग सञ्चालक साहले बताउनुभयो। 

शम्भुनाथ नगरपालिका–७ स्थित शिवशक्ति मार्का इँटा उद्योगका सञ्चालक दुर्गानन्द साहले बजार र भाउ नपाएकै कारण पोहोरकै उत्पादन अझैसम्म बिक्री हुन नपाएको दुखेसो पोख्नुभयो। यस पटक नयाँ उत्पादन गर्न नसकेको उहाँको भनाइ छ। इँटा व्यवसायी सङ्घ सप्तरीका अध्यक्षसमेत रहनुभएका साह भन्नुहुन्छ, “हामीले उत्पादन गरेको इँटाको उचित दररेट निर्धारणका लागि जिल्लाका सरकारी निकायदेखि हरेक पक्षसँग हारगुहार गर्दै आएका छौँ।” आश्वासनबाहेक केही नपाएको उहाँले गुनासो गर्नुभयो। 

जिल्लामो भौतिक संरचना तथा सार्वजनिक निर्माण कार्यका लागि जिल्ला दररेट समितिले दररेट किताबमा विगत तीन वर्ष यता प्रतिइँटाको मूल्य १० देखि १७ रुपियाँसम्म निर्धारण गरेको देखिन्छ। प्रतिवर्ष एकदेखि पाँच रुपियाँको दरले इँटाको मूल्य बढाएको छ। उत्पादन लागत भने एक वर्षमै पाँच गुणाले बढेर व्यवसायी निरन्तर धरासयी हुँदै गएको अध्यक्ष साहले बताउनुभयो। 

बैङ्कको कर्जाको ब्याज बढ्दो छ। उत्पादन लागतको अनुपातमा इँटाको घट्दो मूल्यका कारण उद्योग सञ्चालन गरिरहन कठिनाइ हुने अर्का इँटा व्यवसायी धनपति यादवले भन्नुभयो।