नेपालगन्ज भन्सारमा जनशक्ति थप्न माग
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सार गर्नका लागि थप काउन्टर राख्न माग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले हाल रहेका काउन्टरले भारतबाट सामान लिएर आउनेको भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक राजस्व सङ्कलनमा ठुलो वृद्धि हुने बताउनुभयो ।
कोरियन एयरको टिकट नकाट्न निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर अन्त्यदेखिका टिकट नबेच्न निर्देशन दिएको हो ।
बजारमा आउन थाल्यो मुस्ताङको स्याउ
‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीत हामीले धेरै पहिलादेखि सुन्दै आएका छौँ । त्यही गीतका शब्दमा भनिए जस्तै ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ अहिले बजारमा आएको छ । स्याउको बजारमा माग पनि निकै हुने र त्यही माग अनुसारकै स्याउ बजारमा पनि पाउँदा उपभोक्ता पनि मक्ख छन् । भदौ मसान्तसम्म टिप्नै नपाइने गरी प्रतिबन्ध नै लगाइएको स्याउमा गुलियोपन भरिँदै गएपछि बजारमा पुग्न थालेका छन् ।
नेपाली श्रमिकलाई इजरायलमा भिसा नवीकरण समस्या
इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो ।
प्रभावकारी देखिएन बजार अनुगमन
बिहीबार उपत्यकामा सार्वजनिक बिदा । सबै सरकारी कार्यालय बन्द भए । सरकारको संयुक्त बजार अनुगमन टोली भने अन्य दिनजस्तै अनुगमनका लागि खटियो । बिदाको दिनमा १० वटा टोलीले उपत्यकाका विभिन्न स्थानमा पुगेर ३३ वटा व्यवसायी फर्मको अनुगमन ग¥यो ।
दैनिक बिस किलोसम्म सुन आयात गर्न सकिने
अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको शाखा सञ्चालन
नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बुधबारबाट नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
चितुवाले १९० वटा कालिज मार्यो
कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।
तीन महिना ढिला गरी कुस्माको बजेट प्रस्तुत
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
नार्क पुनर्संरचनासम्बन्धी प्रतिवेदन बुझाउन निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना गर्नका लागि गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदनबारे जानकारी लिनुभएको छ । प्रतिवेदनबारेमा छलफल गर्नका लागि मङ्गलबार खुमलटारस्थित नार्कको कार्यालयमा उहाँले सरोकारवालालाई बोलाउनुभएको थियो । छलफलमा मन्त्री भुसालले नार्कको पुनर्संरचनाका लागि तयार पारिएको प्रतिवेदन एकीकृत रूपमा आउनुपर्ने सुझाव दिनुभयो ।
न्यु खिम्ती सबस्टेसनको क्षमता बढाइयो
नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, साँखे (फुलासी) स्थित २२० केभी न्यु खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मङ्गलबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजना अन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।
फर्निचरजन्य उत्पादन बढाउन नीतिगत सुधार गरिने
राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी सुरु भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधबार आयोजित कार्यक्रममा मेलाको उद्घाटन गर्दै मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आन्तरिक उत्पादन बढाउने, निर्यात प्रवर्धन र आयात कम गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री रिजालले आयात मुलुकका लागि सुखद विषय नभएकाले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी गर्ने धारणा राख्नुभयो । स्वदेशमै खेर गइरहेका काठको प्रयोग गर्नका लागि नीतिगत र कानुनी तवरबाट सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
सहुलियत पसलमा चाडपर्वलक्षित छुट
सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
यातायात सहजताका लागि दसैँअघि नै सडक मर्मत
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वर्षाले बिग्रेको बाटोलाई मर्मत सम्भार गर्ने जनाएको छ ।
एउटै सडक निर्माण, दुई कार्यालयबाट भुक्तानी
जाजरकोटको नलगाड नगरपालिका - ११ मा पर्ने सडक निर्माणका क्रममा एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक बर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी भएको पाइएको छ ।
चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना
दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
भरतपुरमा पर्यटक बढाउन पहल
सन् २०२४ लाई पर्यटन वर्ष मनाउने घोषणा गरेको भरतपुर महानगरले पर्यटकका लागि नयाँ नयाँ गन्तव्यको पहिचान गर्दै प्रवर्धन सुरु गरेको छ । भरतपुर महानगरपालिकाभित्रका नयाँ पर्यटकीय क्षेत्रको पहिचान गर्दै पूर्वाधार विकासमा समेत महानगरले निजी क्षेत्रको समन्वयमा पहल सुरु गरेको हो । भरतपुर महानगरका प्रमुख रेनु दाहालले नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा समेत महानगरको ध्यान पुगेको बताउनुभयो ।
फेवातालबारे सर्वोच्चले भन्यो : पछि दर्ता भएका जग्गाको मुआब्जा दिनुपर्दैन
कास्कीको चर्चित र पर्यटकीय केन्द्र फेवातालको मापदण्ड निर्माण र मुआब्जाबारे सर्वोच्चले व्याख्या गरिदिएको छ । २०३१ सालसम्म फेवाको जग्गा र मुआब्जाबारे कुनै विवाद नरहेको जनाउँदै सर्वोच्चले फेवाको बाँध फुटेपछि दर्ता भएका जग्गालाई अहिले तालको मापदण्ड कायम गर्दा हटाउन क्षतिपूर्ति दिन नपर्ने यकिन गरेको हो ।
सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्प विकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायता उपलब्ध गराउन आह्वान गर्नुभएको छ । इजिप्टको सार्म अल सेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा बिजिनेस राउन्ड टेबुलमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण सहायता संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो ।
यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस
आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो ।
दुधको खपत बढाउन जोड
‘नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ । पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध सहकारी सङ्घ, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) लगायत संस्थाको सहकार्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार दुध दिवसका अवसरमा विभिन्न १८ वटा विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता गराएको छ ।
दस लाख पर्यटक भित्रिने अपेक्षा
विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
एक सय रुपियाँभन्दा ठुला दरका भारतीय नोट बोक्न रोक
अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ ।
कर्जामा १५० प्रतिशतको जोखिमभार ठिक भएन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।