• २३ असार २०८२, सोमबार

नसर्ने रोगको प्रमुख कारक मोटोपना

blog

चितवन समाचारदाता

चितवन, असार २३ गते । जनस्वास्थ्य कार्यालय चितवनले एक वर्षमा विभिन्न स्थानमा स्वास्थ्य परीक्षणका कार्यव्रmम गरेको छ । छ हजार ७५९ जनामा गरिएको परीक्षणमा एक हजार २९७ जनामा उच्च मोटोपना देखिएको छ । परीक्षणमा ८७८ जनामा उच्च रक्तचाप र ५२२ जनामा मधुमेहको समस्या भएको पाइयो । 

पछिल्लो समय नसर्ने रोगको प्रमुख कारक तìव मोटोपना भएका व्यक्तिको सङ्ख्या वृद्धि भएको पाइएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश रूपाखेतीले भन्नुभयो, “हामीले विभिन्न स्थानमा गरेको सर्वेक्षणमा मोटोपनाको समस्या वृद्धि हुँदै गएको पाइएको छ ।” मोटोपनाकै कारण नसर्ने रोगी वृद्धि हुने विभिन्न सर्वेक्षणले देखाएको रूपाखेतीले भन्नुभयो । 

“मोटोपनको कारण कोलस्ट्रोल, मधुमेह, मुटुसम्बन्धी समस्या, मस्तिष्कघात, पित्तसम्बन्धी रोगलगायतका समस्या वृद्धि गर्दै लैजान्छ । हामीले सञ्चालन गरेको शिविरमा अधिक मोटोपना देखिएपछि घटाउन सुझाव दिएका छौँ,” उहाँले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले दिएको मापदण्ड अनुसार हामीले परीक्षण गरेका छौँ । उचाइ अनुसारको तौल उपयुक्त नभएमा वजन घटाउनु पर्दछ । वजन घटाउन ध्यान नदिने हो भने नसर्ने रोग लाग्ने धेरै कारणमध्ये प्रमुख मोटोपना हुने जनस्वास्थ्य प्रशासक रूपाखेतीले भन्नुभयो । 

भरतपुर अस्पतालका मुटुरोग विभागका प्रमुख डा. मणि गौतले मुटुरोगको समस्या हुने धेरै कारणमध्ये सबैभन्दा प्रमुख मोटोपना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुको समस्या एउटै मात्र कारण हुँदैन, धेरैमध्ये प्रमुख मोटोपना हो । मोटोपना मात्र घटाउन सके मुटुसम्बन्धी समस्या धेरै हदसम्म कम हुन्छ ।” पछिल्लो समय युवावस्थामा हुने मोटोपनाले हृदयघातका समस्या हुन थालेको छ । 

“शारीरिक परिश्रम हुने काम कम गर्ने, बस्ने आराम गर्ने प्रकारका काममा धेरै समय बिताउने, व्यायाम नगर्ने जस्ता कारणले गर्दा मुटुको समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो । 

युवामध्ये पुरुषको तुलनामा महिलामा मोटोपना धेरै हुने गरेको डाक्टर गौतमले भन्नुभयो । “हरेक वर्ष युवामा मोटोपनाका समस्या बढेको पाएका छौँ,” उहाँले भन्नुभयो, “मुटुको समस्या लिएर आउनेमध्ये धेरैमा मोटोपना देखिएको छ ।” मोटोपना घटाउने, मद्यपान, धूमपान जस्ता बानीबाट टाढा हुन सकेमा मुटुसम्बन्धी समस्याबाट पर रहन सक्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार उचाइ र तौल नापिने विधि बिएमआई हो । ३० बिएमआईभन्दा माथि हुनु जोखिम मानिन्छ ।” त्यसैले ३० बिएमआईभन्दा कम बनाउन उहाँले सुझाव दिनुभयो ।

मोटोपना हटाउनका लागि व्यायाम सेन्टर खुलेका छन् । व्यायाम गर्नाले शारीरिक तन्दुरुस्त हुने र मोटोपनबाट हुने रोगबाट बच्न सकिने चिकित्सकले सुझाव दिएका छन् । बिहानबेलुका हिँड्न, पसिना आउने गरी काम गर्न तथा व्यायाम गर्न वरिष्ठ फिजिसिएन डा. भोजराज अधिकारीले सुझाव दिनुभयो । सवारीसाधनको बढ्दो प्रयोग, मानसिक तनाव, परिश्रम कम हुनेलाई नसर्ने प्रकारका रोगको जोखिम हुने उहाँको भनाइ छ ।