• २३ वैशाख २०८१, आइतबार

तीन महिना ढिला गरी कुस्माको बजेट प्रस्तुत

blog

प्रनिश गिरी

पर्वत, असोज ११ गते । कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभामार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।

बजेट सार्वजनिक गर्नु पहिले तोकिएको समय सीमाभन्दा तीन महिना ढिलो गरी बजेट सार्वजनिक गरिएकोमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक स्वस्थानी रिजालले नगरवासीसँग भन्नुभयो–“सर्वप्रथम त नेपालको संविधानले तोकेको समयावधिभित्र नगर सभा सम्पन्न हुन नसकेको कारणले नगर बासीहरूमा पर्न गएको असुविधा प्रति नगरपालिकाको तर्फदेखि क्षमा चाहन्छु ।” कुल विनियोजनमध्ये नगरसभाद्वारा बाँडफाँड योग्य रकम ३९ करोड ४७ लाखमध्ये चालु खर्चतर्फ एकमुष्ट १५ करोड २३ लाख उल्लेख छ । पुँजीगत खर्चतर्फ वडागत योजना तथा कार्यक्रमका लागि ५ करोड ७९ लाख विनियोजन भएको छ ।

 प्रस्तुत बजेटमा नगरस्तरीय पूर्वाधार कार्यक्रममा ३ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड ५९ लाख, आर्थिक विकासतर्फ १ करोड ५९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र (विपत् व्यवस्थापन समेतमा) १ करोड ५२ लाख, संस्थागत विकास तथा सेवा प्रवाह सुशासनतर्फ ५० लाख विनियोजन गरिएको छ । त्यसै गरी समपूरक कोषतर्फ ३ करोड ५० लाख, भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि ३ करोड ५० लाख विनियोजन गरिएको उल्लेख छ । 

नगरपालिकाको बजेटमा चालुतर्फ ५४.२४ प्रतिशत छ भने पुँजीगततर्फ ४५.५६ प्रतिशत विनियोजन भएको छ । प्रस्तुत बजेट वक्तव्यमा उल्लेख भए अनुसार सङ्घीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त, समपूरक र विशेष अनुदानतर्फका योजना तथा कार्यक्रमहरूका लागि ४८ करोड ३८ लाख रकम छ । आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उल्लेख गरे अनुसार बजेटका मुख्य प्राथमिकताहरूमा नगर र वडा कार्यालयका प्रशासनिक भवन निर्माण, आन्तरिक राजस्वको दायरा फराकिलो बनाई आन्तरिक आय वृद्धि गर्ने, कृषि क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि गर्नेछन् । ढिलो गरी ल्याइएको बजेट प्रति नगरवासी आशावादी बन्न सकेको देखिँदैन । 

नगरपालिकाले गत वर्षको भन्दा यस वर्ष शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ७० प्रतिशतले बजेट घटाएर विनियोजन गरेको छ । अघिल्लो वर्ष भन्दा अनुमानित आन्तरिक स्रोत रकम व्यापक वृद्धि गरी ७ करोड ७४ लाख उल्लेख गरिएको छ । अघिल्लो वर्षसम्मको बेरुजु रकम १९ करोडबारे नीति तथा कार्यक्रममा केही बोलिएको छैन । विनियोजन गरिएको रकमभन्दा व्यापक बढी खर्च भएको भनी ठुली पोखरी निःशुल्क स्वास्थ्य शिविरबारे नगरवासीले विरोध जनाए पनि १५ लाख रकम विनियोजन गरिएको छ । नगरपालिका प्रमुख जोशीले निर्धारित समयभन्दा ढिलो किन बजेट र कार्यक्रम ल्याइएको भन्नेबारे केही बोलेको पाइएन ।  

भुक्तानी बाँकी योजना तथा कार्यक्रमका लागि ३ करोड ५० लाख र प्रक्रियागत त्रुटिका कारण भुक्तानी नभएको योजना र तथा कार्यक्रमका लागि भनी ६० लाख रकम विनियोजन गरिएको छ । प्रक्रियागत त्रुटि भनी विगतका स्वार्थगत कार्यक्रममा बजेट विनियोजन गर्न खोजिएको भनी केही जनप्रतिनिधिले नै विरोध जनाएका छन् ।