साहारा लिम्बू
फुङलिङ, असार २३ गते । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।
हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज (सोमबार) मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको इन्चार्ज कार्कीको भनाइ छ ।
जहाज नआउँदा टिकट लिएर बसेका यात्रुहरू पुनः गाडीकै माध्यमबाट यात्रा गर्न बाध्य भएका थिए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्नेका लागि अहिले नौ हजार दुई सय रुपियाँ भाडादर कायम रहेको कार्कीले जानकारी दिनुभयो ।