कोकिला ढकाल
इलाम, असार २३ गते । उपभोक्ता संरक्षण ऐन, २०७५ को आवश्यक संशोधनको माग गर्दै चिकित्सकहरुले आन्दोलन थालेपछि उपचारका लागि इलाम अस्पताल आइपुगेका बिरामीहरु समस्यामा परेका छन् ।
अस्पताल आइपुग्दा मात्र चिकित्सकको आन्दोलन थाह पाएपछि विभिन्न जाँच गराउन आएका बिरामीहरु समस्यामा परेका हुन् ।
इलाम अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेको इलाम अस्प्तालका प्रमुख डाक्टर प्रभु साहले बताउनुुभयो । ‘केन्द्रदेखिकै कार्यक्रम भएकाले हामीले पनि समर्थन जनाएका हौं । आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भन्नुुभयो, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’
चिकित्सको आन्दोलनका कारण ओपीडीका सबै सेवा बन्द छन् । अस्पतालको सेवा बन्द हुँदा ठूलो समस्या आएको सन्दकपुर गाउँपालिकाबाट आमाको रेफरका लागि अस्पताल आइपुुग्नुुभएका सेवाग्राही विशाल लिम्बूले बताउनुुभयो । अस्पतालमा उपचार नभएपछि टाढाबाट आएका सेवाग्राही अलमलमा परेको र अस्पतालमा धेरै सेवाग्राही अलपत्र अवस्थामा रहेको लिम्बूले जानकारी दिनुभयो।