• ४ जेठ २०८१, शुक्रबार

सन्दर्भ : विश्व पर्यटन दिवस

दस लाख पर्यटक भित्रिने अपेक्षा

blog

काठमाडौँ, असोज १० गते । विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।

नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ललितपुरस्थित पाटन दरबार क्षेत्रमा प्रभावफेरीको आयोजनासहित विभिन्न अन्तव्रिर्mया, पर्यटन प्रवर्धन, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रम गर्न लागेको जनाएको छ ।

पोखरा पर्यटन परिषद्ले विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवसहितका विभिन्न कार्यक्रम गर्न लागेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।

पर्यटन व्यवसाय आन्दानीको मुख्य स्रोतका रूपमा रहेको छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ । पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र संस्कृतिका आधारमा नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवर्धन गर्न जरुरी रहेको जनाएका छन् ।

सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो आठ महिनाको पर्यटक आगमन दर हेर्दा सन् २०२३ मा १० लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

उहाँले भन्नुभयो, “पछिल्ला प्रत्येक महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको छ । सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा हुने विश्वास गरिएको छ ।”

पछिल्लो दुई महिनामा चिनियाँ पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले आगामी सिजनमा चीनबाट थप पर्यटक भित्रिने अपेक्षा रहेको उहाँले बताउनुभयो । चिनियाँ बजारमा गरिएको प्रचारप्रसारले पर्यटक आगमनमा सुधार देखिएकाले भारत र चीनमा थप पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । सन् २०२२ भर छ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ ।