• ८ पुस २०८२, मङ्गलबार

निर्यात बढे पनि मुलुकलाई छैन फाइदा

blog

  • पाँच महिनामा एक खर्ब १६ अर्बको निर्यात 
  • सात खर्ब ६६ अर्बको आयात

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ । 

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपियाँको निर्यात भएको थियो । 

निर्यातमा आएको यस्तो उछालले तथ्याङ्कमा सुधार देखाए पनि वास्तविकता भने भिन्न छ । नेपालको निर्यातमा सबैभन्दा धेरै भटमासको तेलले योगदान पु¥याएको छ । विभाग अनुसार पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै ४६ अर्ब ५५ करोड रुपियाँ बराबर भटमासको तेल निर्यात भएको छ तर सोही अवधिमा नेपालले ४६ खर्ब ९७ अर्ब रुपियाँ बराबरको कच्चा भटमास आयात गरेको छ । 

मुलुकभित्र खासै उत्पादन नहुने भटमास नै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा देखिन्छ । नेपालले अर्जेन्टिना, ब्राजिल जस्ता दक्षिण अमेरिकी मुलुकबाट कच्चा भटमासको तेल ल्याउने र यहाँ प्रशोधन गरेर भारतमा निर्यात गर्छ । 

भारतमा कच्चा भटमासको तेलको भन्सार महसुलका कारण व्यापारीले नेपाललाई प्रशोधन गर्ने स्थानका रूपमा उपयोग गरिरहेका छन् । भारतसँगको व्यापार सम्झौता र साफ्टाको व्यापार सुविधा अन्तर्गत नेपालबाट न्यून भन्सारमा भारतमा निर्यातको सुविधा छ । त्यसैलाई उपयोग गर्दै भारतमा भन्सार महसुल बढ्दा नेपालमा प्रशोधन गरेर भारतमा लैजाने प्रचलन बढ्दो छ । यसअघि पाम तेलमा पनि यस्तै सुविधा व्यापारीले प्रयोग गरेका थिए । 

व्यापारविज्ञ रविशङ्कर सैँजूले भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरी निर्यात गर्दा तत्कालका लागि निर्यात बढे पनि दिगो नहुने बताउनुभयो । निर्यातलाई दिगो बनाउन स्वदेशमै उत्पादन भएका वस्तुको निर्यात बढ्नुपर्ने उहाँको भनाइ छ । यस्तै समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड रुपियाँको अलैँची निर्यात भएको छ । चार अर्ब १३ करोड कार्पेट, तीन अर्ब ७३ करोड सूर्यमुखी तेल र दुई अर्ब ७३ करोड रुपियाँ बराबरको जुट निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेर सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपियाँको भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा आयातनिर्यात दुवैमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।

पाँच महिनामा आयातनिर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटासमेत १०.५२ प्रतिशतले बढेर छ खर्ब ४९ अर्ब ६८ करोड १५ लाख रुपियाँ पुगेको छ । पाँच महिनामा कुुल वैदेशिक व्यापार २० प्रतिशतले बढेर आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपियाँ पुगेको छ । 

पाँच महिना सबैभन्दा धेरै ४६ अर्ब ९७ करोड १४ लाख रुपियाँ बराबरको भटमासको तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपियाँको डिजेल, २७ अर्ब ३३ करोड २१ लाख रुपियाँको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । यस्तै १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपियाँको स्मार्ट फोन र १५ अर्ब सात करोड ११ लाख रुपियाँको सुन आयात भएको छ । 

पाँच महिनामा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट चार खर्ब ३४ अर्बको वस्तु आयात भएकोमा निर्यात ९५ अर्ब बराबर रहेको छ । भारतबाट ठुलो परिणाममा आयात भए पनि सो अनुपातमा निर्यात कम हुँदा तीन खर्ब ३९ अर्ब २२ करोड १३ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।  यस्तै चीनबाट एक खर्ब ६३ अर्बको आयात हुँदा निर्यात भने ४६ करोड बराबर मात्र भएको छ । चीनमा न्यून परिणाममा निर्यात हुँदा एक खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपियाँ व्यापार घाटा रहेको छ ।नेपालले विभिन्न १४४ वटा मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ ।