जनार्जन खत्री
सर्लाही, पुस ८ गते । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी मिलहरुले खरिद गरिदिने भएका छन् ।
मङ्गलबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न बैठकमा इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले जलेको उखु तत्काल खरिद गर्ने सहमति जनाएका हुन् ।
आगलागी भएको उखुमा रस कति रहेको छ भनी ल्याब परीक्षण गरी उखु खरिद गर्न दुवै चिनी मिल तयार भएको बैठकमा सहभागी गोडैत नगरपालिकाका प्रमुख देवेन्द्र यादवले जानकारी दिनुभयो ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनका प्रशासकीय प्रमुख ठाकुर नेपालले जलेको उखु परीक्षण गरेपछि मात्रै किसानलाई के कति मूल्य दिने भन्ने निधो हुने बतउनुभयो । चिनी उद्योगमा बेच्नेबेला ठिक्क भएको उखु गएको सोमबार आगलागीबाट जलेपछि रोहुवाका किसान चिन्तित रहेका थिए ।
पीडित किसानले जलेको उखु बिक्री गर्ने वातावरण मिलाइ दिन र राहत प्रदान गर्न हारगुहार गरिरहेका थिए । अब भने चिनी उद्योगले उखु किनिदिने भएपछि किसान खुसी भएका छन् ।
व्यावसायिक रुपमा उखु खेती हुने रोहुवा गाउँमा अगलागीबाट सुरुमा ५० बिघाको उखु जलेको आँकलन गरिएको थियो । पछिल्लो पटक गरिएको सर्वेक्षणमा २५ बिघाको हाराहारीमा उखु जलेको पाइएको र भोलि प्रहरीसहित थप एकिन विवरण लिएर सम्वन्धित निकायहरुमा क्षतिको विवरण पठाउने सहमति भएको नगरप्रमुख यादवले बताउनुभयो ।
मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गएको बिहीबार आगलागी भएको उखु खेतीको निरीक्षण गर्दै नेपाल सरकारले निर्धारण गरेको मूल्यमा चिनी उद्योगले खरिद गरेर बाँकी हुने रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।
पीडित किसानले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म गुनासो पुगेपछि रोहुवामा आगलागी भएको उखु खेतीको कृषि विभागको टोलीले समेत अनुगमन गरेर मङ्गलबार मात्रै काठमाडौं फर्किएको छ ।
प्रमुख जिल्ला अधिकारी कडरियाले हरिवन र बगदहमा रहेका दुवै चिनी उद्योगका प्रतिनिधिलाई बोलाएर उखुमा रहेको रसको मात्राअनुसार खरिद गरिदिन आग्रह गरेपछि दुवै उद्योग सकारात्मक भएका बताउनुभयो । मङ्गलबारको छलफलमा सुरक्षा प्रमुख, गोडैताका जनप्रतिनिधि, कर्मचारी, दुवै चिनी उद्योगका प्रतिनिधि, अगुवा उखु किसान र पीडित किसान सहभागी भएका थिए ।