काठमाडौँ, पुस ८ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् ।
चालु मुद्दाका चार हजार दुई सय मिसिल भने सुरक्षित छन् । अभिलेखका एक लाख ९७ हजार थान मिसिल जलेका छन् । सर्वोच्चले कार्यविधि बनाएर मङ्सिर १ गतेदेखि सरोकारवालासँग मिसिल माग गरेको थियो । पुस मसान्तसम्मको समय अदालतले पक्षहरूलाई दिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबारसम्म सात हजार ५३५ थान मिसिल प्राप्ति भएका छन् । सर्वोच्च अदालत परिसरमा रहेको सङ्कलन कक्षबाट छ हजार ८१० र महान्यायाधिवक्ता कार्यालय परिसरमा भएको सङ्कलनमा ७२५ थान मिसिल आइतबारसम्म प्राप्त भएका छन् । कोइरालाका अनुसार प्राप्त मिसिलको प्रमाणीकरण पनि सँगसँगै भइरहेका छन् । आन्दोलनपछि अदालतमा सेवा प्रवाह रोकिएको अवधिमा तारेख नलिएका आठ हजार १७ ले यसबिचमा तारेख लिएको पनि कोइरालाले बताउनुभयो ।
सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयमा नै कर्मचारी राखेर पनि मिसिल सङ्कलन गरिरहेको छ । महान्यायाधिवक्ता कार्यालयबाट प्राप्त हुने मिसिल सर्वोच्चबाट लेखी पठाए अनुसार सङ्कलन भइरहेको छ । अदालतले फोटोकपी मेसिनसँगै महान्यायाधिवक्ता कार्यालय परिसरमा पनि कर्मचारी खटाएको छ । मिसिल जलेपछि सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार प्राप्तिको कार्यविधि बनेको
थियो, जस अनुसार सरकारी वकिल कार्यालय, प्रहरी, मुद्दाका पक्षलगायतसँग मिसिल माग गर्ने गरी कार्यविधि बनेको थियो । पछिल्लो समय पेसीमा चढेका मुद्दामा समेत इजलासबाटै मिसिल मागको आदेश पनि भइरहेको छ । पक्षबाट प्राप्त मिसिल प्रमाणीकरणका लागि अदालत प्रशासकीय तहमा प्रमाणीकरण समितिसमेत बनेको छ । जिल्ला, उच्च र सर्वोच्चमा फरक फरक रूपमा प्रशासनिक समिति बनेका छन् । पक्ष तथा सरोकारवालाबाट प्राप्त मिसिलको परीक्षण गरेर प्रमाणित गर्ने कार्यविधिमा उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा देशभरका २३ अदालतमा भौतिक पूर्वाधार र मिसिलमा ठुलो क्षति पुगेको थियो । आन्दोलनका क्रममा २३ अदालतमा तोडफोड र आगजनी हुँदा चालु, अभिलेख तथा तहसिल शाखाका गरी झन्डै साढे नौ लाख मिसिल पूर्ण रूपमा नष्ट भएका थिए । सर्वोच्च अदालतमा मात्र चालु मिसिलमध्ये करिब ८३ प्रतिशत जलेका थिए ।सर्वोच्चबाहेक मातहतका अदालतमा छ हजार ५३३ थान चालु मिसिल पूर्ण रूपमा नष्ट भएका छन् । यस्तै मातहतका अदालतमा अभिलेखमा रहेका सात लाख छ हजार ७१ थान र तहसिलतर्फका चार हजार १८५ मिसिल पूर्ण रूपमा नष्ट भएका थिए ।