• ५ वैशाख २०८३, शनिबार

सङ्घीय संसद् : सबै समितिमा नयाँ नेतृत्व

blog

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रबार सङ्घीय संसद्का विभिन्न समितिमा निर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएपछि सामूहिक तस्बिरमा सभामुख डोलप्रसाद अर्याल, उपसभामुख रुबीकुमारीलगायत । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, वैशाख ५ गते । निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको दुई सातामै विषयगत समिति गठन र नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । विगतमा लामो समयसम्म नियमावली तर्जुमा नहुँदा समिति गठन र नेतृत्व चयनमा ढिलाइ हुने गरेकोमा यो पटक नियमावली मसौदाको काम जारी रहेकै अवस्थामा समिति गठन भएका थिए । नियमावलीमा समिति सङ्ख्या हेरफेर नगर्ने राजनीतिक सहमतिमा समिति गठन र नेतृत्व चयन सम्पन्न भएको हो ।

सङ्घीय संसद्का दुई संयुक्त समिति र प्रतिनिधि सभाका १० विषयगत समितिमा शुक्रबार एकै पटक सभापति चयन भएका हुन् । निर्वाचित १२ सभापतिमध्ये ११ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन् । १२ मध्ये १० जना निर्विरोध र दुई जना निर्वाचनको प्रक्रियाबाट निर्वाचित हुनुभएको हो । नौ विषयगत र एक संयुक्त समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय अभ्यास र प्रचलित मान्यता अनुसार सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । 

सरकारलाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन तथा कामकारबाहीको अनुगमन मूल्याङ्कन गरी आवश्यक निर्देशन तथा राय दिन समिति गठन गर्ने संवैधानिक व्यवस्था छ । संविधान अनुसार प्रतिनिधि सभा नियमावलीले १० विषयगत समिति गठन व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली अनुसार दुई संयुक्त समिति रहेका छन् । 

संवैधानिक निकायका पदाधिकारी, राजदूत, न्याय परिषद्का सदस्यलगायतको नियुक्तिपूर्व सुनुवाइ गर्ने संयुक्त समिति संसदीय सुनुवाइमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । अर्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनमा पनि रास्वपाकै गणेश कार्की मतदान प्रक्रियाबाट निर्वाचित हुनुभयो । उक्त समितिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मदनकुमारी शाह (गरिमा) ले समेत उम्मेदवारी दिनुभएको थियो । रास्वपाको एकल बहुमत रहेको उक्त समितिमा कार्की निर्वाचित हुनुभएको हो । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि निर्वाचन प्रक्रियाबाट सभापति चयन भएको छ । सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको हो । समिति सभापतिमा नेकपा (एमाले) का गुरुप्रसाद बरालले पनि उम्मेदवारी दिनुभएको थियो । शिक्षा समितिमा रास्वपाको एकल बहुमत छ । 


विषयगत समितिमध्ये नौ वटामा सभापति चयन निर्विरोध भएको छ । एकल मनोनयन दर्ता भएकाले समितिको बैठकले उक्त प्रस्ताव निर्विरोध भएको घोषणा गरेको हो । जस अनुसार कानुन, न्याय तथा मानव अधिकारमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोककुमार चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल निर्वाचित हुनुभएको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित सबै सभापति रास्वपाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

सभापतिमा निर्वाचितमध्ये चार जना महिला हुनुहुन्छ । निर्वाचन भएका समिति सङ्ख्याका आधारमा प्रतिनिधित्व ३३ प्रतिशत हो । कानुन, महिला तथा सामाजिक, शिक्षा तथा स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापतिमा महिला निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभाका चारमध्ये दुई समितिमा महिला नेतृत्व रहेको छ । यसअघि २०७९ मा प्रतिनिधि सभा विघटन हुने बेलासम्म महिला सभापति सङ्ख्या तीन थियो । २०७४ मा प्रतिनिधि सभाको विषयगत १० समितिमा छ जना र दुई संयुक्तमध्ये एक समितिमा महिला सभापति हुनुहुन्थ्यो । नेतृत्वमा महिला प्रतिनिधित्वका हिसाबले २०७४ मा बढी थियो ।