काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फुटेर नभई जुटेर तथा विगतका कटुताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको हो । प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्थाबमोजिम उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुभएको हो ।
सम्बोधनमा उहाँले भन्नुभयो, “मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नुपर्ने खाँचो छ ।”
विषम अवस्थामा तोकिएकै मितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरेकामा राष्ट्रपतिले सबै सरोकारवालालाई धन्यवादसमेत दिनुभयो । अन्तरिम सरकारले चुनाव गराउने आफ्नो मूल दायित्व पूरा गरेकामा धन्यवाद दिँदै उहाँले राज्य संयन्त्रलाई लयमा ल्याई भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्र्धन तथा सेवा प्रवाहमा सुधारसहित संवैधानिक र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकामा प्रशंसासमेत गर्नुभयो ।
निर्वाचनबाट नेपालको संसदीय इतिहासमै अभूतपूर्व युवा प्रतिनिधित्व भएको र यसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता तथा नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको पनि राष्ट्रपतिले बताउनुभयो । नागरिकले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसरलगायतका माग राखेर पछिल्लो पटक युवापुस्ताले आन्दोलन गरेको स्मरण पनि सम्बोधनका क्रममा राष्ट्रपतिले गर्नुभयो ।
जनताले राखेका अपेक्षा पूरा गर्न संस्दले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । संसद्बाट निर्मित कानुनको मर्म र भावना अनुरूप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । न्यायपालिकाको कार्यसम्पादन छिटोछरितो हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
संविधान अनुसार गर्नुपर्ने कार्यहरू अझै धेरै रहेको राष्ट्रपतिको भनाइ थियो । उहाँले भन्नुभयो, “वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ संस्थागत भएका छन् तर संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम हामीले गर्नुपर्ने काम अझै धेरै बाँकी छ ।”
युवाका चाहना विगतभन्दा धेरै रहेको बताउँदै उहाँले रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो । देशमै रोजगारीको अवसर सिर्जना गर्नु आवश्यक रहेको पौडेलले बताउनुभयो । श्रम संस्कृतिको सम्मान र उचित प्रतिफलमा पनि उहाँले जोड दिनुभयो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासनको प्रत्याभूति दिलाउन सार्वजनिक सेवा प्रवाहमा सुधार हुनुपर्ने उहाँको भनाइ थियो । “सरकारी संयन्त्रको सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ,” सम्बोधनमा राष्ट्रपतिले भन्नुभयो ।
विश्वपरिवेशमा देखिएका द्वन्द्वलाई समेत ध्यानमा राखी सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रसँग सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मान र सहयोगमा आधारित कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई आत्मसात् गरी सुशासन, विकास र समृद्धिको यात्रामा संसद् मुखरित हुने विश्वाससमेत सम्बोधनका क्रममा राष्ट्रपतिले गर्नुभयो ।
राष्ट्र निर्माणको साझेदार निजी क्षेत्र
राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योगधन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै आर्थिक समृद्धिको मूल आधार भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धितर्फ जुट्नसमेत आह्वान गर्नुभयो । राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार रहेको भन्दै राष्ट्रपति पौडेलले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने उल्लेख गर्नुभयो ।
निजी क्षेत्रलाई कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उहाँको भनाइ थियो । “निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ । निजी क्षेत्र आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो,” उहाँले भन्नुभयो । “युवापुस्तालार्ई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी प्रतिभा पलायन रोक्न सक्छौँ, उद्यमशीलता, प्रविधि र सिर्जनशीलताको माध्यमबाट युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको आवश्यकता हो,” राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूर्वक सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनले जननिर्वाचित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको धारणा व्यक्त गर्नुभयो । राज्यको दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यत्तिकै भूमिका रहेकाले निजी क्षेत्रलाई विकासको अभियानमा साथमा लिएर सरकारले अघि बढ्न जरुरी रहेको उहाँको भनाइ थियो ।