• १२ माघ २०८२, सोमबार
blog

काठमाडौँ, पुस २१ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रूपमा गरिरहेको बताउनुभएको छ । कार्यवाहक प्रमुख भण्डारीले पुराना र नयाँ सबै राजनीतिक शक्ति चुनावका लागि तयार भइसकेकोले आयोग चुनावी तयारीमा पूर्ण रूपमा लागेको बताउनुभएको हो । 

निर्वाचन आयोगमा अन्य आयोगका प्रतिनिधिसँगको छलफलमा भण्डारीले आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभामा गरी २९३ विधायक निर्वाचित गराउने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले राष्ट्रिय सभासमेत गरी २९३ जना विधायक निर्वाचित गराउन कम्मर कसेर लागेका छौँ । राष्ट्रिय सभामा १८ जनाका लागि माघ ११ मा निर्वाचन गर्छौं । ११० समानुपातिक र १६५ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट गरी २७५ जना प्रतिनिधि सभाका लागि निर्वाचित गर्छौं । समानान्तर रूपमा हामी सबै निर्वाचनका कार्यक्रम एकै पटक सञ्चालन गरिरहेका छौँ ।”

अन्य आयोग तथा विभिन्न सरोकारवाला समुदायले उठाएका कतिपय माग सम्बोधनका लागि संविधान र कानुन संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । आरक्षित निर्वाचन क्षेत्रका सुझाव कार्यान्वयनका लागि पनि संविधान संशोधन आवश्यक रहेको उहाँको भनाइ थियो । नयाँ व्यवस्थामा प्रवेश गर्दा बृहत् राजनीतिक परामर्शसमेतको आवश्यकता पर्ने भनाइ भण्डारीको थियो । 

उहाँले निर्वाचन प्रचार सामग्रीलाई बहुभाषामा तयार पार्न निर्वाचन आयोगले अन्य आयोगसँग सहकार्य गर्ने बताउनुभयो । निर्वाचन प्रचारप्रसारका कामलाई चरणबद्ध र व्यवस्थित रूपमा सञ्चालन गरिरहेको पनि उहाँको भनाइ छ । मतदाता शिक्षा प्रवर्धनका लागि परम्परागत घरदैलो कार्यक्रमसँग डिजिटल प्लेटफर्मको प्रयोगलाई पनि आयोगले प्राथमिकता दिएको उहाँले बताउनुभयो । कार्यवाहक प्रमुख भण्डारीले भन्नुभयो, “पहिले जस्तो घरदैलो प्रक्रिया एउटा भयो तर अहिले सामाजिक सञ्जाल प्लेटफर्मलाई पनि हामीले अधिकतम प्रयोग गर्छौं । निर्वाचनका सन्दर्भमा आयोगले पनि विविध सामग्री उत्पादन गरेर प्रयोग गर्छ ।” उहाँले महिलाका लागि आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नसमेत प्रशस्त परामर्शको आवश्यकता रहेको बताउनुभयो । फागुन २१ गतेको निर्वाचनमा नयाँ विषयलाई समावेश गरेर जान समयसीमाका कारण कठिन रहेको उहाँको भनाइ थियो । आयोगले निर्वाचन तयारीलगायतका विषयमा आइतबार थारू, मुस्लिम, आदिवासी जनजाति, समावेशी, मधेशीलगायतका आयोगका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा आयोग पदाधिकारीले विविध पक्षमा सुझावसमेत प्रस्तुत गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त 

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ 

कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रहने व्यवस्था छ । यस्तै न्याय, कानुन सरकारी वकिल समूहका उपसचिव सरहका कर्मचारी निर्वाचन अधिकृत नियुक्त हुने व्यवस्था छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ८ बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पुस २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको हो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि आफू खटिएको स्थानमा पुगेर कार्यालय स्थापन गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।