• १९ चैत २०८२, बिहिबार

आजदेखि सङ्घीय संसद् अधिवेशन

blog

प्रतिनिधि सभाका सदस्यहरू शपथ ग्रहण समारोहमा । फाइल तस्बिर

काठमाडौँ, चैत १९ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सङ्घीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ हुँदै छ । दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजे एकसाथ सुरु हुने छ । प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ भने राष्ट्रिय सभाको पहिलो बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने छ ।

आकस्मिक र विशिष्ट परिस्थितिमा निर्वाचन सम्पन्न भएपछि करिब सात महिनाको अन्तरालमा दुवै सदनको अधिवेशन एकै पटक सुरु हुन लागेको हो । यसअघि स्थायी सभा राष्ट्रिय सभाको भने एकल अधिवेशन आह्वान भएको थियो । अधिवेशन आरम्भको अघिल्लो दिन बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठकसमेत राख्नुभएको छ । अधिवेशनको पहिलो बैठकको कार्यसूची तथा भावी कार्यदिशाबारे छलफलका लागि केसीले बैठक बोलाउनुभएको हो । बैठकले सभामुख चयनको कार्यतालिका पहिलो बैठकबाटै अघि बढाउने समझदारीसमेत गरेको छ ।   

सम्भावित कार्यसूची

प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै, बैठकमा मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको जानकारीपत्र पनि पढेर सुनाइने छ । राष्ट्रपति कार्यालयबाट प्राप्त उक्त पत्र सभालाई जानकारी गराइने छ । 

प्रतिनिधि सभा नियमावली तर्जुमा नहुँदासम्म यसअघिकै नियमावलीबमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै सभामुख÷उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरूको मनोनयनको कार्यसूचीसमेत रहेको छ ।  

संसद् अधिवेशन बहाल नरहेका बेला सरकारबाट विभिन्न मितिमा सिफारिस भई राष्ट्रपतिले जारी गर्नुभएका अध्यादेश बैठकमा पेस हुने छन् । अधिवेशन नभएको बेला जारी अध्यादेशलगत्तै आह्वान हुने अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश र मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभामा पेस हुने छन् । अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ । 

चैत २२ गते सभामुख चयन

अधिवेशनको पहिलो बैठकले सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गर्ने दलीय सहमति भएको छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यतालिकामा सहमति गरेको हो । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ७ बमोजिम सभामुख निर्वाचनको दिन तोकिने छ । चैत २० गते सभामुखका लागि मनोनयन दर्ता हुने छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभामुख चयनको कार्यतालिकामा दलीय सहमति भएको बताउनुभयो । सर्वदलीय छलफलपछि उहाँले भन्नुभयो, “चैत २२ गते सभामुख चयन गर्ने सहमति भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकबाट कार्यतालिकाबारे जानकारी दिइने छ ।”

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलको समेत हुनु पर्छ । फरक लिङ्ग र राजनीतिक दलबाट सभामुख तथा उपसभामुख चयनको व्यवस्था संविधानले नै गरेको छ ।  

प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएमा तथा प्रतिनिधित्व भए पनि उम्मेदवारी नदिए एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको हो । यदि रास्वपाबाट अर्याल सभामुख निर्वाचित हुनुभएमा अन्य दलबाट महिला सदस्य उपसभामुख निर्वाचित हुनुहुने छ । उपसभामुखमा कुन दलले उम्मेदवारी दिने भनी राजनीतिक सहमति भइसकेको छैन । 

बैठकमा शोक प्रस्तावको कार्यसूचीसमेत रहेको छ । बैठकको अन्त्यमा संविधान सभा सदस्य तथा राष्ट्रिय सभाका सदस्यको निधनमा शोक प्रस्ताव पारित हुने छ । संविधान सभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित हुने छ । यस्तै संविधान सभा सदस्य एवं राष्ट्रिय सभा सदस्य बलदेव बोहरा र पूर्वसांसद होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारितको कार्यसूची रहने छ ।