राधा लुइटेल
फिदिम, पुस ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
पार्टीको जिल्ला कमिटी अध्यक्ष विष्णुप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै चुनाव गराउनुभन्दा दलहरुलाई पाखा लगाएर विथोल्न सक्रिय रहेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
‘नेकपा (एमाले) लोकतन्त्रको संरक्षण, सामाजिक संरचना सुदृढीकरण, संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको पक्षमा स्पष्ट भूमिका निर्वाह गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा हालै सम्पन्न जेन्जी आन्दोलनपछि गठन भएको वर्तमान सरकारले जनआकांक्षा सम्बोधन गर्न नसकेको, सुशासन कायम गर्न असफल भएको तथा निर्वाचनको वातावरण निर्माणमा समेत गैरजिम्मेवार देखिएको एमालेको आरोप छ ।
छ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट बेवास्ता गरिएको आरोप लगाउँदै सरकार अन्य सत्ता सन्तुलनका खेलमा अल्झिएको टिप्पणी विज्ञप्तिमा गरिएको छ । एमालेले राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई लोकतन्त्रको रक्षा, शान्ति सुरक्षा र स्थायित्वका लागि सचेत र एकजुट हुन आह्वान गरेको छ ।
वर्तमान परिस्थितिलाई सही दिशामा लैजान लोकतान्त्रिक शक्तिहरूको साझा भूमिका आवश्यक रहेको पार्टी अध्यक्ष विमल सापकोटाले बताउनुभयो । एमाले पाँचथरले मङ्गलबार पत्रकार सम्मेलन गर्दै सरकारले निर्वाचनको पूर्व तयारी गर्नै नसकेकाले लोकतन्त्र वचाउन पार्टीले आन्दोलनको तयारी गरेको जनाको छ ।