• ५ जेठ २०८१, शनिबार

भरतपुरमा पर्यटक बढाउन पहल

blog

वसन्त पराजुली 

भरतपुर, असोज १० गते ।  सन् २०२४ लाई पर्यटन वर्ष मनाउने घोषणा गरेको भरतपुर महानगरले पर्यटकका लागि नयाँ नयाँ गन्तव्यको पहिचान गर्दै प्रवर्धन सुरु गरेको छ । भरतपुर महानगरपालिकाभित्रका नयाँ पर्यटकीय क्षेत्रको पहिचान गर्दै पूर्वाधार विकासमा समेत महानगरले निजी क्षेत्रको समन्वयमा पहल सुरु गरेको हो । भरतपुर महानगरका प्रमुख रेनु दाहालले नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा समेत महानगरको ध्यान पुगेको बताउनुभयो ।  

“नारायणगढ बजारसँगै रहेको नारायणी नदी किनार ‘सी बिच’ मोडलमा विकास गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “अब हामीले देवनगरमा रहेको वनदेवी बरन्डाभार सामुदायिक वनमा बाघ, गैँडा जस्ता जनावर राखेर पर्यटकले प्रत्यक्ष देख्न पाउने व्यवस्था मिलाउँदै छौँ ।”

चितवन राष्ट्रिय निकुञ्जकै समन्वयमा गैँडा, बाघ जस्ता जनावर पर्यटकका लागि राख्न लागिएको हो । यस्तै राजा महेन्द्रको निधन भएको ऐतिहासिक दियालो बङ्गलालाई पनि पर्यटन वर्षकै अवसरमा सर्वसाधरणका लागि खुला गर्ने गृहकार्य भइरहेको छ । नेपाल ट्रस्टको स्वमित्वमा रहेको यो बङ्गला छिट्टै खुला हुने पनि उहाँले जानकारी दिनुभयो । “दियालो बङ्गला सर्वसाधारणका लागि खुलाउने प्रव्रिmया सुरु भइसकेको छ । यो 

ऐतिहासिक भवनलाई पर्यटन विकास गराउने उद्देश्य महानगरको हो,” उहाँले भन्नुभयो । 

यस्तै जल पर्यटनलाई केन्द्रित गरी क्रुज र मोटरबोटलाई थप व्यवस्थित गरिँदै छ । नारायणीमा ¥याफ्टिङ पनि यहाँ सम्भावना बोकेको जल पर्यटकीय क्षेत्र हो । यसका साथै सौराहामा मात्रै रहेको जिप सफारीलाई अब भरतपुरमै पनि गरिने तयारी भएको छ । 

बिसहजारी तालदेखि देवघाट धार्मिक क्षेत्रसम्म, बरन्डाभार वन क्षेत्रको बाटुली पोखरीदेखि मेघौली गोलाघाटसम्म एवं मेघौलीकै स्थानीय नौ वटा समुदायिक वन मिलेर मेघौलीमै जिप सफारीको तयारी भइरहेको छ । 

नेपालीको लाखेनाच, रोपाइँजात्रा जस्ता सांस्कृतिक महत्वका विषय, देवघाट जस्ता धार्मिक क्षेत्रको विकासका लागि पनि ठोस योजना अघि सारिएको छ । यस्तै साहसिक पर्यटकका लागि कविलासको चौकीडाँडामा प्याराग्लाइडिङ सुरु गरिएको छ । 

“पर्यटन वर्ष भनेकै पर्यटकीय गन्तव्यका बारेमा परिचय गराउँदै भरतपुरलाई सन्सारमै चिनाउने हो,” प्रमुख दाहालले थप्नुभयो, “पर्यटनकै गतिविधि बढाएर कोभिडपछिको आर्थिक मन्दी घटाउन सकिन्छ कि भन्ने उद्देश्य लिएका छौँ ।” 

पर्यटकीय गन्तव्य चितवनमा अहिले पनि वार्षिक दुई लाखको हाराहारीमा पर्यटक आउँछन् । यसरी आउने पर्यटकमध्ये भरतपुर महानगर अवलोकन गर्ने ३० हजार मात्रै हुन् । अब पर्यटन गतिविधि वढाएर वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य महानगरले लिएको छ ।  

विभिन्न कला, संस्कृति, भाषाको विकास गर्दै भरतपुरलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य महानगरले लिएको छ । पर्यटनविज्ञ डा. विश्व सुवेदी देशको आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकास हुन नसकिरहेका बेला महानगरले सुरु गरेका योजनाले पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिन सकिने बताउनुभयो । “गन्तव्य पहिचानसँगै बिस्तारै पूर्वाधार पनि विकास गरिँदै छ, यसले पर्यटनको विकासमा सहयोग पुग्ने छ,” उहाँले भन्नुभयो । 

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया भरतपुरको विकास हुँदै गर्दा त्यसले समग्र चितवनको पर्यटनमा टेवा पुग्ने वताउनुभयो । पर्यटकलाई चितवनले आकर्षित गर्न पूर्वाधार विकाससँगै सुविधासम्पन्न होटलको समेत वृद्धि गरी गुणस्तर सुधारमा लाग्नुपर्ने आवश्यक छ । विज्ञ सुवेदी भन्नुहुन्छ, “देशकै मध्य भागमा रहेको भरतपुर महानगरले चालेका पर्यटन विकाससम्बन्धी योजनाले पनि चितवनको पर्यटनमा फड्को मार्ने देखिन्छ ।”