अमरराज नहर्की
तनहुँ, असार २३ गते । तनहुँमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँको तथ्याङ्कमा यो सबैभन्दा धेरै बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएको पाइएको हो ।
सन् २०२५ को जनवरीदेखि जुनसम्मका आठ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् । इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको २१ वटा घटना भएकोमा सबैभन्दा बढी बलत्कार, बलत्कार प्रयास र यौन दुर्व्यवहारका सबैभन्दा धेरै आठ भएका हुन् । पीडित आठमध्ये चार जना बालिका रहेको भट्टराईले जानकारी दिनुभयो । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तकमा उल्लेख गरिने भएका छन् । आठै वटा मुद्दाको फैसला भएको छैन ।
यसैगरी, सो अवधिमा हत्यका चार, कुटपिट/धम्की र दुर्व्यवहार चार, विद्यार्थी कुटपिटका चार, मानव बेचबिखनाका चार र सम्पत्ति क्षतिमा एक गरी २१ वटा घटना भएको इन्सेक तनहुँले जनाएको छ । पीडित हुनेमा महिला बढी छन् ।
महिलाको सङ्ख्या १४ र पुरुषको सङ्ख्या सात रहेको तथ्याङ्कमा उल्लेख छ । आइतबार इन्सेक तनहुँद्वारा गरिएको अर्थ वार्षिक तथा पूर्व समीक्षा कार्यक्रममा वक्ताहरुले घटना न्यूनीकरणका लागि राजनीतिक आस्थाको आधारमा संरक्षण गर्न नहुने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सामाजिक सञ्जाल, छलफल, कुराकानी जताततै नकरात्मक कुराहरु धेरै आउने भएकाले मानिसको सोचाइ विषाक्त बन्दै जाँदा घटना बढी हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘काल्पनिक घटना र पात्र तयार पारेर पर्दशन र अभियन गर्ने गरिएकोले नकरात्मक भावानाको विकास भएको छ यसले देश विकासमा ठुलो बाधा पु¥याएको छ ।’’ राम्रोलाई राम्रो नभन्ने तर नराम्रो कुरालाई बारम्बार उठाइरहने अवस्थाको अन्त्य गरिनु पर्ने उहाँले बताउनुभयो । दोषी छ भने आफ्नो तथा अर्को कोही नभनिकन कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले घटना न्यूनीकरणका लागि सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयहरु, टोल तथा बस्तीहरु सचेतना कार्यक्रम भइरहेको बताउनुभयो । नेपाली कांग्रेस तनहुँकी सदस्य सिर्जना तिवारी, नेकपा एमाले तनहुँका सचिव प्रदिपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको अध्यक्ष विश्व बास्तोला, महिला मानव अधिकार सञ्जाल उपाध्यक्ष वसुन्धरा घर्ति, महिला मानव अधिकार रक्षक प्रतिनिधि लक्ष्मी सिग्देल लगायतले मानव अधिकारको संरक्षणका लागि सरकारको एक्लो प्रयासले सफलता नहुने हुँदै सबै एक जुट भएर हातेमालो गर्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो ।