नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असोज १२ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सार गर्नका लागि थप काउन्टर राख्न माग गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले हाल रहेका काउन्टरले भारतबाट सामान लिएर आउनेको भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक राजस्व सङ्कलनमा ठुलो वृद्धि हुने बताउनुभयो । उहाँले त्यहाँ रहेको काउन्टरमा भिड धेरै भएपछि धेरै जनाले राजस्व नतिरेरै सामान भित्र्याउने गरेकाले जनशक्ति र काउन्टर थप्नुपर्ने अपरिहार्य भएको बताउनुभयो ।
अध्यक्ष धामीका अनुसार दैनिक लाखौँ मूल्यको खुद्रा सामान जमुनाह नाकाबाट आयात हुन्छ । त्यसरी आयात भएको सामानलाई भन्सारको प्रक्रियामा लैजानका लागि काउन्टरहरू थप गर्नुपर्ने आवश्यकता परेको हो ।
करारमै कर्मचारी भर्ना गरेर भए पनि काउन्टर थपेर भन्सार राजस्व असुलीमा कडाइ गर्नुपर्ने व्यवसायीको माग छ ।
सङ्घका अध्यक्ष धामीले केही दिनअघि उद्योगमन्त्री रमेश रिजाललाई हस्तान्तरण गरिएको ज्ञापनपत्रमा जमुनाह नाकाबाट अवैध रूपमा करोडौँको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमानाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यावहारिक भन्सार नीति सच्याउनुपर्ने माग गरिएको बताउनुभयो ।
उहाँले नाकामा रहेको यात्रु शाखामा जनशक्ति र काउन्टर कम भएका कारण धेरै जनाले भन्सार राजस्व नतिर्ने गरेको पाइएको बताउनुभयो । अध्यक्ष धामीले उक्त विषयमा नेपालगन्ज भन्सार कार्यालयलगायत माथिल्लो निकायमा पनि छलफल गरिने बताउनुभयो ।
व्यवसायीको माग अनुसार नै अहिले भन्सार कार्यालयले सय रुपियाँभन्दा बढीको सामान ल्याउनेसँग राजस्व सङ्कलन गर्न थालेको छ तर काउन्टर र जनशक्ति कम हुँदा अझै पनि अधिकांशले राजस्व नतिरेरै जाने गरेका छन् ।
राजस्व सङ्कलन वृद्धि गर्न र नेपालको व्यापार व्यवसाय बढाउन जिल्लाका विभिन्न नाकामा रहेका छोटी भन्सार पनि पुनस्र्थापना गर्न उद्योगी व्यवसायीले माग गर्दै आएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले राजस्व सङ्कलन बढाउन र नेपालको व्यापार व्यवसाय उकास्न छोटी भन्सार पुनस्र्थापना गर्नुका साथै मुख्य नाकामा अझ कडाइ गर्नुपर्ने माग गर्नुभयो ।
नौबस्ता औद्योगिक क्षेत्र तत्काल निर्माण गर्नुपर्ने, विद्युत् समस्या समाधान गर्नुपर्ने, उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिस्ट्रारको कार्यालय खोल्नुपर्ने, उद्योगी व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रवर्धन गर्नुपर्ने, बाँकेमा जडीबुटीमा आधारित औषधी उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडीबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतको सरकारस्तरमा संवाद गर्नुपर्ने माग स्थानीय व्यवसायीले गत लामो समयदेखि गर्दै आएका छन् ।