• २४ वैशाख २०८१, सोमबार

कर्जामा १५० प्रतिशतको जोखिमभार ठिक भएन : पूर्व अर्थमन्त्री खतिवडा

blog

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ९ गते । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्व अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताउनुभयो । पूर्व अर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्बक सबैले काम गर्दा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताउनुभयो । 

उहाँले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाइदिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताउनुभयो । उहाँले राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गरेमा त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गर्नुभयो । राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताउनु उहाँको भनाइ छ । 

उहाँले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताउनुभयो । पूर्व अर्थमन्त्री खतिवडाले शेयर बजार माथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताउनु भयो । उहाँले नेप्सेको हालत पनि ठिक नभएको बताउनुभयो । उहाँले टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुनेगरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताउनुभयो । डा. खतिवडाले कुनै पनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्न नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्काको अधिकारमा हस्तक्षेप गर्ने कुरामा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई गर्नु कुरा उपयुक्त होइनन् । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्बक गरौं । बाँकी कुराहरु हुँदै जान्छन् ।’ 

उहाँले संकटमा अर्थतन्त्र भएको मुलुकको सरकारको रवैया बढी भएको बताउनुभयो । उहाँले सरकारले संकट रहेको अर्थतन्त्रमा रवैया देखाउनेभन्दा पनि तत्काल सुधारका केही काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आएको समस्या अर्थतन्त्र अनौपचारिक क्षेत्रमा जाँदा समस्या आएको बताउनुभयो ।