पोखरा, पुस ८ गते । नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा रहेको छ कालाबाङ सामुदायिक घडेरी होमस्टे । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा १५६ घरधुरी छ । सोमध्ये १८ घरमा मात्र होमस्टे सञ्चालनमा छ ।
१८ घरमध्ये १२ घर गुरुङको छ । ५ घर ब्राह्मण र १ घर दलितको घरमा होमस्टे सञ्चालन छ । त्यहाँ गुरुङ समुदायकै बाहुल्य छ । यद्यपि ब्राह्मण समुदाय र दलित समुदायको पनि बसोबास छ । समाजमा मिलेर यी तीन जातीय समुदाय घडेरी होमस्टे सञ्चालन गरेका छन् । २०७३ बाट सञ्चालनमा आएको होमस्टेमा ६० देखि ७० पाहुना एक रातमा बस्न सक्ने क्षमता छ ।
अर्गानिक तरकारी, लोकल कुखुरा, खसीको मासु र त्यही उत्पादित चामल, गेडागुडी र साग, गुन्द्रकको परिकारले आन्तरिक तथा बाह्य पर्यटक लोभिन्छन् । आन्तरिक भन्दा बाह्य पर्यटक बढी आउने सो होमस्टेमा महिला दाजुभाइहरुको आत्मीयता र स्वागत गर्ने शैलीले पर्यटकको मन लोभ्याउँछ ।
नेपाल होमस्टे महासङ्घका उपाध्यक्ष तथा होमस्टे सञ्चालक प्रकाशचन्द्र गुरुङका अनुसार सो बस्ती २५० वर्ष पुरानो हो । पहिले कालो घना वन भएकै कारण त्यस ठाउँको नाम कालावनबाट अपभ्रंश हुँदै कालाबाङ भएको हो । पहिले त्यहाँ २८१ घरधुरी थियो । तर नजिकै पोखरा शहर भएकाले कतिपयले छोराछोरी पढाउने नाममा, कोही विदेश जाने नाममा बसाई सर्दा अहिले १५६ घरधुरी मात्र गाउँमा छ ।
सञ्चालक गुरुङका अनुसार कालाबाङ होमस्टे समावेशी होमस्टे हो । नेपालभरी करिब ८ सय होमस्टे सञ्चालनमा रहे पनि यत्तिको समावेशी होमस्टे नभएको उहाँको दाबी छ । “थारु गाउँमा थारु मात्रको होस्टे छ, गुरुङ गाउँमा गुरुङहरुको होमस्टे छ । मगरको गाउँमा मगर र यसैगरी अन्य समुदायको पनि होमस्टे सञ्चालनमा छन् । तर यहाँ गुरुङ, ब्राह्मण र दलित समुदायको संयुक्त र समावेशी घरेडी होमस्टे सञ्चालनमा छ” उहाँले भन्नुभयो ।

त्यहाँ बसोबास गर्न आउने पर्यटकका लागि हरेक साँझ स्थानीय सांस्कृतिक प्रस्तुति रहनेगरेको सञ्चालक गुरुङले बताउनुभयो । विषादिरहित अर्गानिक खानेकुराले आन्तरिक तथा बाह्य पर्यटक घरेडी होमस्टेमा लोभिने गरेको उहाँको बुझाइ छ ।
अर्का होमस्टे सञ्चालक दुर्गाबहादुर गुरुङले होमस्टे तुलनात्मक रुपमा कम खर्चिलो रहेको बताउनुभयो । प्राकृतिक छटाले भरिएको कालाबाङ होमस्टेमा आउने पाहुनालाई शिरमै देखिने सेताम्मे हिमालले मनमोहक पार्ने गरेको बताउनुभयो । प्रतिव्यक्ति खानासहित ११ सय ५० देखि १२ सय रुपियाँसम्म प्रतिदिनको प्याकेज रहेको बताउँदै उहाँले अन्य ठाउँको तुलनामा सस्तो भएको बताउनुभयो । पोखरा शहरदेखि नजिकै प्राकृतिक सौन्दर्यले भरिभराउ कालाबाङ होमस्टेको आकर्षण नै यहाँको हिमाल, पहाड र घना वनजङ्गल भएको उहाँले बताउनुभयो ।
पोखरा शहर नजिकै गाउँले परम्पराको होमस्टेको स्वाद लिन पाइने कालाबाङमा उहाँले छुट्टै आफन्त फार्म स्टे नामक घरबास सञ्चालन गर्नुभएको छ । जहाँ एक रातमा ३५ जनासम्म सुत्ने अट्याच कोठाहरुको व्यवस्था गरिएको छ । आफू होमस्टेमा समाहित नरहेको बरु छुट्टै स्टे सञ्चालन गर्दैआएको उहाँले बताउनुभयो ।
असोज, कात्तिक, मङ्सिर, पुस र माघदेखि नयाँ वर्षसम्म पर्यटकहरु होमस्टेमा बढी आउने गरेको उहाँको भनाइ छ । समुद्री सतहदेखि करिब १४ सय मिटरको उचाइमा रहेको कालाबाङमा धेरै जाडो नहुने र धेरै गर्मी पनि नहुने विशेषता रहेको उहाँले बताउनुभयो । बुद्धपार्क, पुम्दीकोट लगायतको पर्यटकलाई अल्झाउने स्थान निर्माण गरिएको उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत मुक्तिनाथ अर्यालले आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको र होमस्टे सञ्चालनले पर्यटकको आकर्षण अझ बढेको बताउनुभयो । पर्यटन क्षेत्रको प्रवर्धनमा स्थानीय रहनसहन, भेषभूषा, सांस्कृतिक पक्षहरुको भूमिका महत्वपूर्ण रहने गरेको र आदिवासीको संस्कारजन्य गतिविधिले पर्यटकहरु आकर्षित हुनेगरेको उहाँको बुझाइ छ । पोखरा प्राचीन ऋषिमुनिहरुको तपोभूमि भएकाले यहाँ आउने पर्यटकहरु विभिन्न भेराइटीका रहनेगरेको उहाँले बताउनुभयो ।
वडा २२ का अध्यक्ष हिमलाल बरालले पोखरा तालैताल र मन्दिरको शहर भएकाले धार्मिक पर्यटकहरुको सख्यामा वृद्धि भइरहेको बताउनुभयो । यहाँको स्थानीय गाइने सारङ्गी यहाँको पहिचान भएको बताउँदै वडा अध्यक्ष बरालले पूर्वाधार विकासको तीव्रताले अझै पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो वडामा अझै केही ठाउँमा सडक पक्की गर्नेकाम बाँकी रहेको र आगामी दिनमा चाँडै सम्पन्न हुने विश्वास उहाँले गर्नुभयो ।

पोखरा महानगरपालिकाका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार पोखराको राम्रो हावापानी, यहाँको अतिथि सत्कार गर्ने शैली, ऐतिहासिक र सांस्कृतिक पक्षले गर्दा पर्यटकहरु आकर्षित हुनेगरेका छन् । चर्चित धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न जानेहरुको प्रवेशद्वार पोखरा भएकाले पनि धार्मिक पर्यटकहरु पोखरामा बढी आउनेगरेको उहाँले बताउनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५ सम्पन्न हुन अब एक साता बाँकी रहँदा यस अवधिमा करिब २० लाख पर्यटक ल्याउने लक्ष्य महानगरको भएको र त्यो लक्ष्य करिब पूरा भएको उहाँको भनाइ छ । पोखरा शहरको नजिकमा रहेको कालाबाङ होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ गाउँबस्तीको बसाइ बढी हुनेगरेको अधिकारीले बताउनुभयो ।
आदिबासीको परम्परागत रहनसहन, भाषा, संस्कृति र परिकारमा आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेको उहाँले बताउनुभयो । त्यसको अलावा कालाबाङबाट देखिने सुन्दर हिमाल र पहाडको दृश्यले पर्यटकको मन मोहित हुनेगरेको उहाँको बुझाइ छ ।











