सेतो टीका कहिलेदेखि कसले लगाउन सुरु गरेको हो यस बारेमा अध्ययन भएको छैन । प्रायः आदिवासी जनजातिको चाडपर्वमा सेतो टीका लगाइन्छ ।
आदिवासीले शुद्धिको प्रतीकका रूपमा सेतो टीका लगाउँछन् । अधिकांश आदिवासी जनजातिले लगाउने सेतो टीकालाई थारूहरूले दसैँ, तिहार तथा अन्य बेला देवीदेवतालाई लगाइदिने गर्छन् । पौराणिककालदेखि थारूले सेतो टीका लगाउने गरेका छन् । अचेल देखासिखीमा रातो टीका लगाउने गरिएको पनि देखिन्छ तर सेतो टीका नै थारू समुदायको प्राचीन संस्कार हो । आदिवासी जनजातिभित्र पर्ने थारू, नेवार, मगर, गुरुङ, राई, लिम्बूलगायतका आदिवासीले सेतो टीका लगाउने गरेको हामी देख्न सक्छौँ ।
भनाइ छ आदिवासीले पृथ्वीमा पहिलो पटक आँखा उघार्दा यहाँ कुनै रङको विकास भइसकेको थिएन । मात्र एउटा सेतो रङ थियो । जुन प्रकृतिको उपहार थियोे । चाहे पानीको फोहरा होस् वा माटो होस्, धुलो होस् वा हिमाल सबै सेतै उत्पत्ति भएका हुन् । यस कारण सेतो प्राकृतिक रङ हो । सेतो रङलाई शान्तिको प्रतीक पनि मानिन्छ ।
धेरैपछि अन्य रङ रातो, खैरो, निलो, पहेँलो, कालो, हरियो विकास भए । सेतो रङलाई चोखो र प्राकृतिक रङ मानिन्छ । यही चोखो रङको प्रभाव आदिवासीमा परेको मान्यता रहिआएको छ । त्यसैले थारू जातिको पुरानो पहिरन पनि सेतो नै छ । सेतो रङ प्रकृतिको उपहार भएर होला यो अरू रङभन्दा शुद्ध मानिन्छ । चाहे विवाह गर्दा होस् वा मृत्यु हुँदा होस् वा अन्य बेलामा सेतो रङको आफ्नै महìव छ । थारू जातिमा महिला र पुरुषले लुङ्गी, लङ्गौटी, धोती वा चोलो, गुनियो सबै सेतो नै लगाउँछन् । थारू समाजमा विशेष चाडपर्वमा सेतो पहिरनमै महिला, पुरुष सजिने गर्छन् ।
हिन्दु धर्म मान्नेले सेतो टीकालाई अशुद्ध मान्छन् । चाडपर्वमा जाँड, रक्सी, सुँगुर छुनु हुँदैन पनि भन्छन् तर आदिवासी जनजातिलाई यी वस्तु नभई घर व्यवहार चल्दैन । यद्यपि थारूलगायतका आदिवासीले हिन्दु र बौद्ध दुवै धर्म पनि आएको हामी देख्छौँ । सेतो टीका गौतम बुद्धले पनि ग्रहण गरेको मानिन्छ । तथापि गौतम बुद्धले कहीँकतै सेतो टीकाको महिमाबारे प्रस्ट्याएको भने देखिँदैन ।
निधारमा लाउने टीकाले तन, मन शुद्ध हुन्छ । निधारको टीका वीरताको प्रतीक पनि हो । मानिसले विजय प्राप्त गर्दा होस् या नयाँ कामको सुरुवात गर्न होस् निधारमा टीका लगाउने गर्छन् । लामो यात्रामा जाँदा होस् या भगवान्को पूजा गरी प्रसादीका रूपमा पनि टीका लगाइन्छ ।
निधारलाई शरीरको देवस्थान मानिन्छ । त्यसैले पनि टीकाद्वारा त्यसलाई सजाइन्छ । टीकालाई तेस्रो आँखाको दर्जा दिइने गरिन्छ । यसलाई ज्ञानचक्षु, आज्ञाचक्र पनि भनिन्छ । सेतो टीका शुद्धताको प्रतीक भए जस्तै रातो टीकालाई शक्तिको प्रतीक मानिन्छ र पहेँलो टीकाले आध्यात्मिकता जनाउँछ । त्यस्तै कालो टीका पनि शक्तिको प्रतीक हो ।
थारू जातिले सेतो टीकालाई कसरी प्रचलनमा ल्याए त ? यस विषयमा थारू अगुवा तथा संस्कृतिका जानकारको विश्लेषण यस्तो छ –
(क) अशोक थारू, (दाङ)
प्रकृति र आदिम जातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतो मात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारूको प्यारो रङ सेतो बन्यो । देवीदेवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारूको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारूलगायतका आदिवासी सेतो रङको प्रयोग गर्छन् । सेतो रङले थारूको विरासत झल्काउँछ ।
थारू समाजका महिला–पुरुषले लगाउने सबै पोसाक सुरुमा सेतो नै थियो । अन्य रङको विकाससँगै अचेल थरीथरीका कपडाको विकास भएपछि युवा पुस्ताले अन्य रङको पोसाक पनि लगाउन थाले । विशेष चाडपर्वमा अझै पनि थारूले सेतो पोसाक र टीकालाई महत्व दिने गर्छन् । यसलाई कायम राख्नु भनेको हाम्रो प्रकृतिसँगको सम्बन्ध र आफ्नो विरासत जोगाउनु हो ।
सेतो रङको टीका गौतम बुद्धले पनि प्रयोग गर्थे भनेर यसको इतिहास बुद्धकालसम्म मात्र सीमित गर्न मिल्दैन । बुद्ध आफैँ शान्तिकामी भएकाले स्वभावैले उनले पनि सेतो टीकाको प्रयोग गरे । प्रकृतिपूजक आफैँ शान्तिका प्रतीक हुन् । गौतम बुद्धको इतिहास २६ सय वर्ष मात्र भयो । थारू जातिको इतिहास हजारौँ वर्ष पुरानो छ । सेतो रङको सान्दर्भिकता र महìव हिजो जति थियो आज पनि उत्तिकै छ । यसलाई निरन्तरता दिनुले नै थारूसहित आदिवासीको पहिचान र महìव कायम रहन्छ ।
(ख) सुशील चौधरी (बर्दिया)
सेतो रङ शान्तिको प्रतीक हो भन्ने त सर्वविदितै छ । थारू शान्तिकामी जाति हुन् । लडाइँ, झगडा र छलछाममा विश्वास गर्दैनन् । प्राचीनकालमा थारू जातिले आफ्ना देवीदेवतालाई गाईको दूधले पूजा गर्दथे । गाईको दूध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन थियो ।
देवताका लागि गाईको दूध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारूले त्यसको उपयोग गर्दै आए । यद्यपि थारू जातिले गाईलाई माताको संज्ञा कहिल्यै दिएनन् । गाईको दूध सेवन पनि गरेनन् । देवतालाई मात्र चढाउने काम गरे । सायद त्यही भएर होला गाईको दूध सेवनभन्दा पनि गाईको बाच्छालाई हुकाइबढाई खेत जोत्ने काममा उपयोग गर्दै आए । जुन अद्यापि जारी छ । थारूको देवता गुर्वावालाई गाईबाट जन्मेको विश्वास गरिन्छ ।
सेतो टीका प्राचीनकालदेखि उपयोग भएकै कारण दसैँ, तिहार तथा देवतालाई अन्य बेला पनि सेतो रङले पूजा गर्ने प्रचलन कायम छ ।
(ग) लाहुराम चौधरी (कैलाली)
सेतो रङको महत्व भनेको छलछाम नगर्नु, पक्षपातपूर्ण काम नगर्नु, इमानदार तथा सहयोगी र परोपकारी हुनुसँग जोडिएको छ । थारू जातिको दिमागमा दायाँबायाँ गर्ने कुनै ज्ञानै थिएन । प्रकृतिले दिएको ज्ञान रूपी उपहारलाई उनीहरूले प्रयोग गरे । समय परिवर्तन भइसक्दा समेत त्यही बाटोलाई अँगालेका छन् । पछिबाट आएका जातजाति प्रकृतिको विरोधी देखिए । छलछाम र कपटपूर्ण काम गरे । थारूको सोझोपन र इमानदारीको फाइदा उठाए ।
आदिमकालदेखि सुरु भएको सेतो रङलाई थारूले अहिले पनि उपयोग गर्छन् । स्वच्छ, सफा र चोखोपनको महìव बोकेको सेतो रङलाई आदिम जाति थारूसहित आदिवासीले उपयोगमा ल्याउनु स्वाभाविक थियो । अचेल वीरताको प्रतीकका रूपमा रातो रङको टीकालाई मानिन्छ तर थारूको प्राचीन रङ तथा वीरता र शुद्धताको प्रतीक सबै सेतो रङ नै हो ।
(लेखक चौधरी थारू संस्कृतिका अनुसन्धानदाता हुन् ।)
–युवामञ्च