सल्यान समाचारदाता
सल्यान, फागुन २९ गते । शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ। शारदा नगरपालिकाका अनुसार गाउँ वस्तिका साथै खलंगा, श्रीनगर बजारलगायतका व्यावसायिक केन्द्रहरूमा खोप कार्यक्रम सञ्चालन गरिएको छ।
पशु सेवा शाखा प्रमुख पशुचिकित्सक दीपा पौडेले हालसम्म पालिका विभिन्न क्षेत्रमा कुल २४६ वटा कुकुरहरूलाई रेबिजविरुद्धको खोप प्रदान गरिएको बताउनुभयो। उहाले भन्नुभयो, रेबिज रोग कुकुरबाट मानिसमा सर्न सक्ने घातक संक्रमण भएकाले समयमै रोकथाम नगरे मानव र पशु दुवैको जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने खतरा रहेको छ। त्यसैले नगरपालिका स्तरबाट सञ्चालन गरिएको खोप अभियानले समुदायमा रोग नियन्त्रण र स्वास्थ्य सचेतना बढाउने लक्ष्य राखिएको हो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरपालिकाका सबै वडामा खोप अभियान विस्तार गर्नेछौं। हरेक कुकुरसम्म खोपको पहुँच सुनिश्चित गर्न व्यवस्थापन भइरहेको बताउनुभयो ।
मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले स्थानीय सरकारले सञ्चालन गरेको रेबिज विरुद्धको खोप अभियान उदाहरणीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, मानव स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको पहल प्रशंसनीय छ। यसले समुदायमा स्वास्थ्य सचेतना र जिम्मेवारीबोधलाई पनि वृद्धि गर्नेछ।”
यस अभियानले केवल पशु स्वास्थ्यमा सुधार मात्र ल्याउने नभई मानव स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शारदा नगरपालिका, सल्यानले रेबिज विरुद्धको खोप लगाउन थालेको छ।