• २० चैत २०८२, शुक्रबार

पुर्ख्यौली संस्कृति जोगाउन नयाँ पुस्ता सक्रिय

blog

चिम खोलामा पाका र नयाँ पुस्तासँगै भएर पुर्ख्यौली नाच देखाउँदै। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २० गते
। म्याग्दीका मगर समुदायमा लोपोन्मुख बन्दै गएको पुख्याैँली नाचसहित मौलिक संस्कृति संरक्षणमा नयाँ पुस्ता सक्रिय हुन थालेको छ। जिल्लाका विभिन्न गाउँमा पाका पुस्ताले नाच्दै आएको पुर्ख्यौली नाच, सोरठी भाका, मादले–मारुनी र कौरा नाचमा बालबालिका तथा युवापुस्ताको सहभागिता बढ्न थालेपछि पुस्तान्तरणसँगै मौलिक संस्कृति जोगिने आशा बढेको छ।

मगर समुदायमा लोकप्रिय पुर्ख्यौली नाच, सोरठी भाका, मादले–मारुनी र कौरा नाच मौलिक कला–संस्कृतिभित्र पर्दछन्। मौलिक संस्कृतिको संरक्षण र सिप पुस्तान्तरणका लागि पाका र नयाँ पुस्ता दुवै सक्रिय भएसँगै संरक्षणको जागरण आएको नेपाल मगर सङ्घ, म्याग्दीका अध्यक्ष खम थापाले बताउनुभयो।

उहाँका अनुसार पछिल्ला केही वर्षयता मगर समुदायको बाक्लो बस्ती भएका गाउँहरूमा संस्कृति संरक्षणका लागि पाका र युवा पुस्ताको सक्रियता बढेको छ। बालबालिकालाई समेत संस्कृतिबारे जानकारी गराउन विद्यालय तहमा पनि पुर्ख्यौली नाच सिकाउन थालिएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “युवालाई सिकाउँदै आएको पुर्ख्यौली नाचमा विद्यालयस्तरका बालबालिका तथा युवापुस्ता जोडिन थालेपछि लोप हुने जोखिममा परेको परम्परागत कला संरक्षण र पुस्तान्तरण हुने आशा बढेको छ।”

जिल्लाको रघुगङ्गा गाउँपालिका–७, चिमखोलाका १३ वर्षीय अमन परियार पुनसहितका बालबालिका गाउँमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा मादले र मारुनीको भूमिकामा नाच्ने गरेका छन्। पछिल्लो समय गाउँमा पाका पुस्ताका कलाकारले पुर्ख्यौली नाच सिकाउन थालेसँगै युवापुस्ता यसको संरक्षण र प्रवर्धनमा जुटेका छन्।

चिमखोलास्थित अमर माविमा कक्षा ७ मा अध्ययनरत बालकलाकार पुनले गाउँमा आयोजना हुने पुर्ख्यौली नाचमा मारुनीको भूमिकामा नाच्दै आएको बताउनुभयो।

चिम खोलाको पुर्ख्यौली समूहमा अहिले चार जना नयाँ कलाकार जोडिएका छन्। अमनसँगै ११ वर्षीय नवीन पुन, १० वर्षीय आर्नल पहरे पुन र १६ वर्षीय रोहन गर्बुजाले पुर्ख्यौली नाच देखाउँदै आउनुभएको छ। रोहनले मादले र मारुनी दुवै भूमिकामा नाच्दै आउनुभएको छ।

उहाँले भन्नुभयो, “मेरो बुवा पनि पुर्ख्यौली नाचमा सक्रिय हुनुहुन्छ। उहाँकै प्रेरणाले म मादलेको भूमिकामा नाच्न थालेको हुँ। पुर्खाले सुरु गरेर जोगाउँदै आएको संस्कृतिलाई निरन्तरता दिन पाउनु मेरो लागि गौरवको विषय बनेको छ।”

पछिल्लो समय युवायुवती रोजगारी र शिक्षाका लागि विदेश पलायन हुने क्रम बढेसँगै गाउँमा पुर्ख्यौली नाचको पुस्तान्तरणमा चुनौती देखिन थालेको गर्बुजाले बताउनुभयो। गाउँमा हुने उत्सव, मेला–पर्व र पूजाआजामा ज्येष्ठ नागरिकले पुर्ख्याैली नाचसहित परम्परागत कला–संस्कृतिका विविध गतिविधि सञ्चालन गर्दै आएकामा पछिल्लो समय युवापुस्ताको सहभागिता बढाउन पहल थालिएको उहाँको भनाइ छ।

पुर्ख्याैली नाचका लागि कम्तीमा चार जना मादले र मारुनीसँगै सोरठी भाकामा गीत गाउन १५ जनाभन्दा बढी कलाकार आवश्यक पर्ने भएकाले सोही अनुसार समूह बनाउनुपर्ने गर्बुजाले बताउनुभयो।

पुर्ख्यौली नाचमा नयाँ पुस्ताको अभाव देखिन थालेपछि विद्यालय तहबाट नयाँ कलाकारलाई नाचसम्बन्धी कला सिकाउन थालिएको चिमखोलाका अग्रज कलाकार गम पुनमगरले बताउनुभयो।

मगर समुदायमा मेला–पर्व, विवाह, क्षौरकर्मलगायत धार्मिक, सांस्कृतिकदेखि सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमा समेत पुर्ख्याैली नाच प्रदर्शन गर्ने परम्परा रहिआएको उहाँले बताउनुभयो।

सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ। मादलको तालमा सोरठी भाकाको कम्पनसँगै कलाकारदेखि दर्शकसम्म रोमाञ्चित हुने यो नाचको अनौठो विशेषता रहेको छ।

पुर्ख्याैली नाचका लागि गाइने ख्याली र सोरठी भाकामा देवीदेवताका कथादेखि मायाप्रेम, सद्भाव, अधिकार र जिम्मेवारीका विषयलाई टुक्का गीतमार्फत गाउने चलन रहेको अग्रज कलाकार पुनमगरले जानकारी दिनुभयो।

पुर्ख्यौली नाच्नका लागि चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला र हातमा रैयाँले सिँगारिएर पुरुष मारुनी बन्छन् भने शिरमा फेटा/टोपी, भोटो, खादी, भाङ्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बन्ने चलन छ।